पर्सामा हैजा : साता बित्दा पनि नियन्त्रणमा आएन, दैनिक संक्रमित थपिँदो

भर्ना हुने र उपचार गरी घर फकिर्ने दर समान देखिए पनि नयाँ बिरामी देखिने क्रम नरोकिँदा चिन्ता बन्दै गएको छ ।

भाद्र १७, २०८२

शंकर आचार्य

Cholera in Parsa: Even after a week, it is not under control, the number of infected people is increasing daily

What you should know

पर्सा — हैजाको प्रकोप फैलिएको डेढ साताभन्दा बढी भए पनि पर्सामा संक्रमण रोकिएको छैन । दैनिक संक्रमितको संख्या थपिँदो छ । जिल्लामा हाल संक्रमितको संख्या २ सय नजिक पुगेको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले मंगलबार बिहान साढे ९ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ७६ पुगेको छ । पोखरिया अस्पतालमा सम्पर्कमा आएका झाडापखालाका बिरामीमध्ये हैजा संक्रमितको संख्या १७ पुगिसकेको छ । वीरगन्ज र पोखरियामा गरी जिल्लामा संक्रमितको संख्या १ सय ९३ पुगेको छ ।

वीरगन्जस्थित विभिन्न अस्पतालमा मंगलबार बिहानसम्म ८ सय ९९ झाडापखाला तथा हैजाका बिरामी सम्पर्कमा आएका छन् । तीमध्ये २३ नयाँ बिरामी हुन् । ८ सय ९९  मध्ये ७ सय ९१ उपचारपछि घर फर्किसकेका छन् । वीरगन्जमा हैजा संक्रमित १ सय ७६ मध्ये १ सय ६२ उपचार पछि घर फर्किसकेका छन् । १४ संक्रमित अझै बिभिन्न अस्पतालमा उपचाररत छन् । हाल १ सय ८ जना झाडापखालका बिरामी वीरगन्जको विभिन्न अस्पतालमा उपचाररत छन् ।

तथ्यांकले नयाँ बिरामी भर्ना हुने दर र उपचार गरी घर फकिर्ने दर समान देखिए पनि नयाँ बिरामी देखिने क्रम नरोकिँदा भने चिन्ता बन्दै गएको छ । प्रकोप फैलिन नदिन भन्दै वीरगन्ज महानगरपालिकाको कार्यालयले एक सातादेखि यहाका सम्पूर्ण शिक्षण संस्था नै बन्द गराएको छ ।

सरकारीदेखि गैरसरकारी संस्थाको लामो प्रयासपछि पनि वीरगन्जमा हैजाको वास्तविक स्रोतबारे अझै यकिन हुन सकेको छैन । सुरुमा अनुमान गरिएजस्तो विभिन्न प्रयोगशालाको नतिजाले वीरगन्ज महानगरमा खानेपानी संस्थान र डिप बोरिङका पानीमा हैजाका जीवाणु भेटिएन । यस्तो अन्योलमा सर्वसाधारण पनि सशंकित छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully