आइतबार साँझसम्म वीरगन्ज महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ७२ जना पुगेको छ ।
What you should know
पर्सा — डेढ सातादेखि फैलिएको झाडापखालाका र हैजाका बिरामी थपिएका थपियै छन् । सरोकारवालाले दैनिकजसो झाडा र हैजा संक्रमण नियन्त्रण उन्मुख रहेको दाबी गरे पनि बिरामीको संख्या दैनिक थपिँदो छ ।
वीरगन्ज महानगरपालिकाको कार्यालयले आइतबार साँझ ६ बजेसम्म वीरगन्ज महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ७२ पुगेको छ । उता पोखरिया अस्पतालको सम्पर्कमा आएकामध्ये पनि हैजा संक्रमितको संख्या १७ पुगिसकेको छ । वीरगन्ज र पोखरियामा गरी जिल्लामा अब हैजा संक्रमितको संख्या १ सय ८९ पुगेको छ । उपचार भएर फर्कने र थपिने बिरामीको संख्या बराबर जस्तै देखिएको छ ।
वीरगन्ज महानगरको स्वास्थ्य महाशाखाका अनुसार वीरगन्जस्थित विभिन्न अस्पतालमा आइतबार साँझसम्म ८ सय ३२ झाडा तथा हैजाका बिरामी सम्पर्कमा आएका छन् । तीमध्ये ५८ जना शनिबार रातियता थपिएका हुन् । ८ सय ३२ मध्ये ७ सय ४६ जना उपचार पछि फर्किसकेका छन् । उपचाररत ८६ मध्ये ४० जना हैजा संक्रमित छन् । हाल पनि ६८ जना विभिन्न अस्पतालको जनरल वार्डमा उपचाररत छन् । ३ जना एचडियुमा र १५ जना आईसियुमा छन् ।
उता पोखरिया अस्पतालमा आइतबार साँझसम्म ३१ जना भर्ना भएकोमा १७ जनामा हैजा पुष्टि भइसकेको अस्पतालका मेसु डा. आनन्द रौनियारले जानकारी दिए । यहाँ शनिबारयता हैजाका ३ बिरामी उपचारका लागि आएका छन् । शनिबार ६ जना उपचारपछि घर फर्केका छन् ।
संक्रमण फैलिएको क्षेत्रमा स्थलगत जानकारी लिन आउने संघीय सरकारका मन्त्रीहरू बिरामीलाई भेटेर प्रकोप घट्दै जाने दाबीसमेत गरिरहेका छन् । प्रकोप फैलिन नदिन भन्दै वीरगन्ज महानगरपालिकाको कार्यालयले एक सातादेखि यहाँका सम्पूर्ण शिक्षण संस्था बन्द गराएको छ ।
महानगरले खानेपानीको शुद्धता र सरसफाइमा पनि देखिनेगरी नै ध्यान दिएकै छ । तर अझै पनि हैजाको जीवाणु फैलाउने मुख्य स्रोतको यकिन हुन सकेको छैन ।
सुरुमा अनुमान गरिए जस्तो विभिन्न प्रयोगशालाको नतिजाले वीरगन्ज महानगरमा खानेपानी संस्थान र डीप बोरिङ दुवै पानीमा हैजाको जीवाणु भेटिएन । तर पानी पछि अन्य वस्तुमा हैजाको जीवाणु खोज्ने प्रयास पनि कुनै सरोकारवाला निकायबाट भएको छैन । यस्तो अन्योलको अवस्थामा सर्वसाधारण पनि अन्योलग्रस्त र सशंकित छन् ।
