वीरगन्जमा जापानिज इन्सेफलाइटिस नियन्त्रण अभियान

महानगरको वडा नं १९ र २२ मनियारीका सुँगुर तथा बंगुर फार्मको अनुगमनका क्रममा किसान र स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ ।

भाद्र १४, २०८२

शंकर आचार्य

Japanese Encephalitis Control Campaign in Birganj

पर्सा — जापानिज इन्सेफलाइटिस संक्रमण बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान शुक्रबार सञ्चालन गरेको छ ।

महानगरको वडा नं १९ र २२ मनियारीका सुँगुर तथा बंगुर फार्ममा गरिएको अनुगमनका क्रममा किसान र स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ । महानगर प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुँयालका अनुसार अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन–पर्यावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोली सहभागी थियो ।

सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमूत्रको उचित व्यवस्थापन गर्न तथा लामखुट्टे नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ । साथै फार्मभित्र बाहिरी व्यक्तिको आवागमन नियन्त्रण, पशुपन्छीलाई स्वच्छ वातावरण उपलब्ध गराउने र दैनिक सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको हो ।

जोखिमपूर्ण क्षेत्रमा रहेका दलित बस्तीहरूमा समेत जनचेतना कार्यक्रम सञ्चालन गरिएको उनले बताए । त्यहाँ स्थानीयलाई सामूहिक सरसफाइमा सहभागी हुन र लामखुट्टे नियन्त्रणमा प्रत्यक्ष सरोकारवाला बन्न प्रेरित गरिएको थियो । रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै फुँयालले नियमित रूपमा औषधि छर्किने र फार्मस्तरमा सरसफाइ अनुगमनलाई तीव्रता दिइएको बताए ।

अनुगमन टोलीमा पशु चिकित्सक डा सुदीपकुमार शर्मा, वातावरण शाखाका प्रकाश ऐर र महानगर प्रहरी निरीक्षक हरि भुसाल सहभागी थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully