वीरगन्जमा हैजा संक्रमण दर घट्दै, पोखरियामा उकालो लाग्दै

वीरगन्ज र पोखरियामा समेत गरी हैजा संक्रमितको संख्या १ सय ६८ पुगेको छ ।

भाद्र १४, २०८२

शंकर आचार्य

Cholera infection rate decreasing in Birgunj, increasing in Pokharia

What you should know

पर्सा — झाडापखाला तथा हैजाको प्रकोप फैलिएको पर्सामा वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमण वृद्धि तुलनात्मक रुपमा केही कम रहे पनि पोखरिया नगरपालिकामा भने हैजा संक्रमण दरले गति लिन थालेको छ ।

शुक्रबार साँझ ६ बजेसम्ममा वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमितको संख्या १ सय ५३ पुगेको छ । बिहीबार साँझ ६ बजे यो संख्या १ सय ४३ थियो । २४ घण्टाको अवधिमा वीरगन्जमा १० हैजा संक्रमित थपिएका हुन् ।

उता पोखरियामा पनि १५ हैजा संक्रमित पुष्टि भइसकेका छन् । यसरी वीरगन्ज र पोखरियामा समेत गरी पर्सा जिल्लामा कुल हैजा संक्रमितको संख्या १ सय ६८ पुगेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ५३ मध्ये ५९ जना संक्रमित यहाँस्थित विभिन्न अस्पतालमा उपचाररत छन् । कुल संक्रमित मध्ये ९४ जना डिस्चार्ज भई सकेका छन् ।

पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा आएका बिरामीमा हैजा संक्रमण पुष्टि हुने दर भने तीव्र रहेको छ । शुक्रबार साँझसम्ममा संक्रमितको संख्या १५ पुगेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आनन्द रौनियारका अनुसार, चार दिनयता अस्पतालमा झाडापखालाका २५ बिरामी सम्पर्कमा आएकामा ती मध्ये १५ जनामा हैजा संक्रमण पुष्टि भएको हो । शुक्रबार अस्पतालमा जम्मा २ बिरामी भर्ना रहेको र दुवै हैजा संक्रमित नै रहेको उनले बताए । १३ जना डिस्चार्ज र अन्यत्र रिफर भई गइसकेका छन् ।

वीरगन्ज महानगर क्षेत्रका विभिन्न अस्पतालहरुमा गरी कुल ६ सय ९७ झाडापखाला र हैजाका बिरामी सम्पर्कमा आएकामा ५ सय ४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् । १ सय ९३ अझै विभिन्न अस्पतालमा उपचाररत छन् । 

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म वीरगन्ज लगायत पोखरियामा समेत हैजाको पुष्टि आरडीटी परीक्षणबाट भएको हो । वीरगन्जको हकमा संक्रमित पुष्टि भएकाहरु अधिकांश वीरगन्ज महानगरपालिका वडा नं ३, ११, १२, १३ र १६ का छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully