मधेशको प्रदेशसभा अर्को सूचना नभएसम्मका लागि स्थगित

सरकारले प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित गर्दा प्रतिपक्षले सदनमा विरोध गर्दै आफ्नो आवाज बुलन्द गरेका छन्।

भाद्र १३, २०८२

कमलेश ठाकुर

State Assembly of Madhesh adjourned until further notice

जनकपुरधाम — मधेश प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । शुक्रबार छैटौँ अधिवेशनको दोस्रो बैठक पनि प्रतिपक्षी दलले मधेश प्रदेशसभामा विरोध गरेपछि बैठक स्थगित भएको हो ।

आजको बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दलले उठेर ढ्यापढ्याप गर्दै विरोध जनाएका थिए । नेकपा (माओवादी केन्द्र) का सांसद जवाहरलाल कुशवाहाले बजेट असमान तथा बिचौलिया हावी भएको आरोप लगाए । बजेटमा अपारदर्शिता र व्यापक अनियमितता देखिएको उनको भनाइ छ ।

‘बजेट ल्याउने प्रक्रियामा वित्तीय अनुशासन उल्लङ्घन भएको देखिन्छ,’ उनले भने, ‘त्यस कारण हामीले अर्थमन्त्रीको राजीनामा माग गरेका छौँ । राजीनामा नआएसम्म हामी सदन अवरुद्ध गरिरहन्छौँ ।’

सत्तापक्ष नेपाली कांग्रेसका सांसद कुमरकान्त झाले सरकार र अर्थमन्त्रीको बचाउ गरे । प्रतिपक्षले टेबलबाट समाधान गर्नै नखोजेको उनले आरोप लगाए । सर्वदलीय बैठकमा छलफल गर्न उनले अनुरोध गरे ।

‘झगडा अन्त्य हुन्छ, तर रगडा कहिल्यै अन्त्य हुँदैन,’ उनले भने, ‘प्रतिपक्षले अहिले रगडा गरिरहेको छ । सकारात्मक सोच लिएर नआए समाधान हुन सक्दैन ।’

सरकारले प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित गरेको थियो । सरकारले प्रदेशसभामा चार सय ६१ पृष्ठको मात्र रेडबुक प्रस्तुत गरेको थियो । तर पछि कार्यदलले सात सय ५५ पृष्ठको रेडबुक भएको भेटिएको थियो । त्यही कारण प्रतिपक्ष दलले चार सय ६१ पृष्ठलाई मात्र मान्यता दिन र बाँकी पृष्ठको योजनालाई खारेज गर्न माग गर्दै आएको थियो ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully