सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम गरे पनि प्रभावकारी देखिएको छैन ।
What you should know
राजविराज — सप्तरीमा गत वर्ष सडक दुर्घटनामा परेर ८४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका अनुसार गत वर्ष एक हजार एक सय ७२ वटा दुर्घटना भएको हो । ती दुर्घटनामा तीन बालबालिकासहित १२ महिला र ६९ जना पुरुषले ज्यान गुमाएका हुन् ।
सोही दुर्घटनामा एक सय ७३ बालबालिका, तीन सय एक महिला र ९ सय ४६ जना पुरुष गरी एक हजार चार सय २० जना घाइते भएका छन् । गत वर्ष अघिल्लो वर्षभन्दा करिब ३० प्रतिशतले सडक दुर्घटना बढेको छ भने अघिल्लो वर्षभन्दा ज्यान गुमाउनेको संख्या ४७ प्रतिशतले बढेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।
अघिल्लो वर्ष सडक दुर्घटनामा चार बालबालिकासहित ५६ जनाले ज्यान गुमाएका थिए । ८ सय ८५ वटा दुर्घटना हुँदा एक हजार ५१ जना घाइते भएका थिए । कार्यालयको तथ्यांकअनुसार दुवै वर्ष सबैभन्दा बढी मोटरसाइकल दुर्घटना परेको छ ।
सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम गरे पनि प्रभावकारी देखिएको छैन । गत वर्ष मात्रै प्रहरी कार्यालयले विद्यार्थी, चालक, सहचालक, सर्वसाधारण र युवा लक्षित दुई हजार एक सय ४६ वटा कार्यक्रम गरेको छ । तर, सडक दुर्घटनामा भने कमी आएको छैन ।
सडक दुर्घटना बढ्दो देखिँदासमेत ट्राफिक नियम उल्लघंन गर्ने चालक कारबाहीमा परेको संख्या भने ह्वात्तै घटेको प्रहरी कार्यालयको तथ्यांकमा देखिएको छ । आर्थिक वर्ष ०७९/०८० मा ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारबाही गरी दुई करोड ५३ लाख ५६ हजार ५ सय राजस्व संकलन हुँदा गत वर्ष त्यसको अनुपातमा ५० प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।
गत वर्ष एक करोड २७ लाख ९३ हजार ५ सय १ रुपैयाँ मात्रै राजस्व संकलन भएको छ भने अघिल्लो वर्ष एक करोड ७७ लाख ९२ हजार ६ सय राजस्व संकलन भएको थियो ।
