महादेवा गाउँपालिकाका पूर्वअध्यक्ष दिपककुमार यादवको निधन

एक वर्षदेखि आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका पूर्वअध्यक्ष यादवको बुधबार दिउँसो निधन भएको उनका छोरा अभिनव यादवले जानकारी दिए ।

भाद्र ११, २०८२

विद्यानन्द राम

Dipak Kumar Yadav, former chairman of Mahadeva rural municipality, passed away

राजविराज — सप्तरीको महादेवा गाउँपालिकाका पूर्वअध्यक्ष दिपककुमार यादवको निधन भएको छ । वडा नम्बर ३, बथनाहा निवासी ६८ वर्षीय उनी कलेजोको क्यान्सरबाट पीडित थिए ।

एक वर्षदेखि आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका पूर्वअध्यक्ष यादवको बुधबार दिउँसो निधन भएको उनका छोरा अभिनव यादवले जानकारी दिए । 

उनी बुवा विशेश्वरप्रसाद यादवको प्रेरणाले विद्यार्थी जीवनकालदेखि नै राजनीतिमा होमिएका थिए । उनका बुवाले राणा र पञ्चायती शासनविरुद्ध भएका आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका उनी आफ्नो कार्यकालमा सडक, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको सुधारलाई प्राथमिकतामा राखेर कार्य गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सल्लाहकारसमेत रहेका उनको बिहीबार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् । उनका श्रीमती, छोरा र छोरी छन् ।

गाउँपालिकाले पूर्वअध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार शोक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले बुधबार शोक सन्देश जारी गर्दै गाउँपालिकाको समग्र विकास र सुशासनमा यहाँले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने जनाइएको छ । सन्देशमा मृत आत्माको चिरशान्तिको कामना गरिएको छ भने शोकाकुल परिवार तथा इष्टमित्रमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामनासमेत गरिएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully