हैजा फैलिएपछि शुद्धीकरण गरेर पानी बाँड्दै वीरगन्ज महानगर

महानगर प्रमुख राजेशमान सिंहले घरमै पानी उमालेर पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

भाद्र ११, २०८२

शंकर आचार्य

Birganj metropolis distributing water after cholera outbreak

पर्सा — झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई प्राथमिकता  दिएको छ । महानगरले विभिन्न स्थानमा राखिएका ट्यांकीहरूमा ट्यांकरमार्फत पुर्‍याइने पानीलाई क्लोरिन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर निर्मलीकरण गरी मात्र वितरण गर्दै आएको जनाएको छ।

महानगर कार्यालयका वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार फोहोर वा दूषित पानीकै कारण हैजा, टाइफाइडसहित अन्य पाचनसम्बन्धी रोग फैलिने सम्भावना उच्च रहने भएकाले ट्यांकरमै क्लोरिन घोल्ने र ब्लिचिङ पाउडर प्रयोग गरेर शुद्धीकरण नगरिकन कुनै पनि स्थानमा पानी नपठाइएको हो ।

उनले ब्लिचिङ पाउडरलाई पानीलाई सुरक्षित बनाउने प्रभावकारी उपाय बताउँदै यसले पानीमा क्लोरीन मुक्त गराएर हैजा र टाइफाइड जस्ता रोगका जीवाणुहरूलाई तुरुन्तै नष्ट गर्ने भएकाले लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिने जनाए।

महानगर प्रमुख राजेशमान सिंहले खानेपानी शुद्धीकरणलाई रोग नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण उपाय भन्दै नागरिकलाई घरमै पानी उमालेर मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे। सामुदायिक स्वास्थ्य पहिलो प्राथमिकता भएकाले महानगरले आफ्नो तर्फबाट शुद्धीकरणको सम्पूर्ण प्रक्रिया अवलम्बन गरिरहेको उनले जनाए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully