गत वर्ष केही ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्त व्यक्तिले कार्यालयसम्म पुग्न नसक्दा भत्ता नपाएको देखिएपछि घरमै पुगेर परिचयपत्र नवीकरण गर्न थालिएको कार्यवाहक मेयर इसरत प्रविनले बताइन् ।
What you should know
राजविराज — सप्तरीको राजविराज नगरपालिकाले हिँड्डुल गर्न नसक्ने लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा (सासु) भत्ताका लागि परिचयपत्र नवीकरण गर्न थालेको छ ।
सामाजिक सुरक्षा नियमावली, २०७६ अनुसार लाभग्राहीले भदौसम्म स्वयं नगरपालिका वा वडा कार्यालयमा पुगेर परिचयपत्र नवीकरण गर्नुपर्ने प्रावधान छ । तर, गत वर्ष केही ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्त व्यक्तिले कार्यालयसम्म पुग्न नसक्दा भत्ता नपाएको देखिएपछि घरमै पुगेर परिचयपत्र नवीकरण गर्न थालिएको कार्यवाहक मेयर इसरत प्रविनले बताइन् ।
परिचयपत्र नवीकरण गराउन उनी आफैं खटिएकी छन् । सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाईका प्रमुख रविन्द्र साह, वडा सदस्य रामानन्द देव र वडा सचिव वडासचिव अमर दत्त लगायतका टोलीसहित वडा नम्बर ७ पुगेकी कार्यवाहक मेयर प्रविनले १ सय २ वर्षीया वचियादेवी यादव र ९५ वर्षीया जगदम्बा देवको परिचयपत्र नवीकरण गराएकी हुन् ।
‘गत वर्ष सामाजिक सुरक्षा भत्ताबापतका केही रकम फिर्ता भएको पाएपछि सोधखोज गर्दा केही लाभग्राहीले नवीकरण नै नगराएको जानकारी पाए,’ उनले कान्तिपुरसँग भनिन्, ‘केही लाभग्राहीको परिचयपत्र नवीकरण गराए पनि, अन्य त्यस्ता लाभग्राही पहिचान गर्न कर्मचारी पनि खटाइसकेका छौं ।’ उनकाअनुसार भदौसम्म सबै वडामा पुगेर हिँड्डुल गर्न नसक्ने लाभग्राहीको सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरण गरिसक्ने लक्ष्य छ ।
सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातजाति, आफ्नो हेरचाह आफैं गर्न नसक्ने व्यक्ति, विपन्न नागरिक, अशक्त र असहाय तथा बाल पोषणका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।
