वीरगन्ज महानगरले आफ्नै प्रयोगशालाबाट सुरु गर्‍यो खानेपानी परीक्षण

महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो ।

भाद्र १०, २०८२

शंकर आचार्य

Birgunj Metropolitan Municipality started water testing from its own laboratory

पर्सा — वीरगन्ज महानगरपालिकाले महानगरमा झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षण सुरु गरेको छ । महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो ।

महानगर प्रमुख राजेशमान सिंहको सचिवालयका अनुसार महानगरले वडा नं. १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरेको छ । माइक्रोबायोलोजिस्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्य सुरु गरेका छन् । सोमबारबाट महानगरले पानीको नमुना संकलन गरी आफैंले परीक्षण इ कोली परीक्षण गर्न सुरु गरेको हो ।

महानगरले वडा नं १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै आधुनिक प्रयोगशाला स्थापना गरेको छ । युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्मसमेत परीक्षण सुरु गरिएको छ ।  इ कोली परीक्षणको प्रारम्भिक नतिजा २४ घण्टाभित्र आउँछ भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट पाउन करिब ७२ घण्टा लाग्नेछ ।

समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तत्काल थाह हुन्छ र त्यसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ । हाल महानगरले अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धाराको पानीमा प्राथमिकता दिँदै परीक्षण कार्य अघि बढाइरहेको छ । आवश्यकताअनुसार अन्य शंकास्पद स्थानका नमुनाहरु पनि संकलन गरी परीक्षण गर्ने तयारी रहेको फुँयालले बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully