मधेशमा तस्करी : एक सयभन्दा बढी घुमुवा र बदनाम प्रहरी जिम्मेवारीमुक्त

मधेशका आठ जिल्लामा कार्यरत ११३ प्रहरी कर्मचारीको जिम्मेवारी खोसिएको छ। सादा पोसाकमा काम गर्ने र गैरव्यावसायिक गतिविधिमा संलग्नहरूलाई अन्यत्र सरुवा गरिएको छ।

भाद्र ९, २०८२

विनय आजाद

Smuggling in Madhesh: More than 100 nomads and discredited police freed from responsibility

सिरहा — मधेश प्रदेशमा प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको विषय सार्वजनिक हुन थालेपछि एक सयभन्दा बढी प्रहरी कारबाहीमा परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले ती प्रहरीलाई जिम्मेवारीमुक्त गरेको हो ।

मधेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, जिम्मेवारी खोसिनेमा प्रदेशका आठै जिल्लामा कार्यरत १ सय १३ जना प्रहरी छन् । जसमा सादा पोसाकमा काम गर्ने घुमुवा तथा गैरव्यावसायिक गतिविधिमा संलग्न विभिन्न दर्जाका प्रहरी कर्मचारी छन् ।

उनीहरूलाई कार्यरत रहेको ठाउँबाट अन्यत्र सरुवा गरी पठाइएको डीआईजी चतुर्वेदीले जानकारी दिए । गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीको पहिचान गर्ने र त्यहाँबाट अन्यत्र पठाउने काम अझै जारी रहेको उनले बताए ।

'हामीले अहिले जिम्मेवारीबाट कम्तीमा एक १३ जनाभन्दा बढीलाई हटाएका छौं, अन्यको पनि पहिचान गर्ने काम भइरहेको छ,' डीआईजी चतुर्वेदीले कान्तिपुरसित भने, 'संगठनमाथि आँच पुर्‍याउनेहरूप्रति हामी निर्मम भएर जान्छौं ।'

सीमानाकामा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालयलगायतका कर्मचारी खटिएका हुन्छन् । यसका अलावा सुरक्षा निकायले सीमामा 'घुमुवा' पनि परिचालन गरेको हुन्छ । तर, घुमुवाहरूको तस्करी गर्नेहरूसँगै हिमचिम हुने र उनीहरूको काम तस्करी नियन्त्रण नभई लाइन मिलाउने तथा असुली गर्ने रहेको आरोप सुरक्षा निकायमाथि लाग्दै आएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully