वीरगन्ज महानगरमा सोमबार साँझ बसेको विशेष छलफलका क्रममा निजी अस्पतालका सञ्चालकहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
What you should know
पर्सा — जिल्लामा हैजाको प्रकोप बढ्दै गएसँगै वीरगन्जका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक शय्या र जनशक्ति निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
वीरगन्ज महानगरमा सोमबार साँझ बसेको विशेष छलफलका क्रममा निजी अस्पतालका सञ्चालकहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, महानगर स्वास्थ्य शाखाका प्रतिनिधि तथा निजी अस्पतालका सञ्चालकहरू सहभागी थिए।
छलफलमा महानगर प्रमुख राजेशमान सिंहले महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै बिरामीलाई सहज उपचार उपलब्ध गराउन आग्रह गरेका थिए। उनले निजी अस्पतालमा पुग्ने बिरामीलाई पनि सहजै उपचार पाउने वातावरण बनाउनु पर्नेमा जोड दिँदै सम्भव भएसम्म निःशुल्क सेवा उपलब्ध गराउन सकिए बिरामीहरूको पीडा न्यून हुने बताए।
छलफलमा प्रकोप नियन्त्रणका लागि तत्काल कदम चाल्ने, औषधि तथा शुद्ध पानीको आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर प्रभावित क्षेत्रमा परिचालन गर्ने र सचेतना अभियानलाई तीव्र पार्ने सहमति गरिएको छ।
नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार उपचार पद्धति अपनाए धेरै हदसम्म सहज हुने बताए।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले महामारी नियन्त्रणमा सरकारी र निजी दुवै अस्पतालको समान जिम्मेवारी रहने बताए । उनले आवश्यक नपर्दा पनि जबरजस्ती आईसीयुमा बिरामी राखेर आर्थिक लाभ उठाउने गलत प्रवृत्ति रोक्न चेतावनी दिए। औषधि उपलब्धता र गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उनले अन्य स्थानीय तहलाई पनि अग्रिम तयारीमा जुट्न निर्देशन दिए ।
स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले संक्रमणको स्रोत दुई दिनभित्र पत्ता लगाउने गरी नमुना संकलन, स्थलगत निरीक्षण लगायतका काम भइरहेको बताए। उनले प्रारम्भिक अध्ययनले यो संक्रमण प्रदूषित पानीमार्फत फैलिएको देखाए पनि कहाँ र कुन स्रोतबाट फैलिएको भन्नेबारेमा अझै पुष्टि नभएको र दुई दिनभित्र तथ्यांक संकलन र विश्लेषणपछि पत्ता लाग्ने बताए।
