वीरगन्जका अधिकांश अस्पतालमा झाडापखालाका बिरामी, ४१ मा हैजा पुष्टि

पर्साका विभिन्न अस्पतालहरू हैजाका बिरामीले भरिएका छन्, तर संक्रमणको मूल स्रोतको पहिचान अझै हुन सकेको छैन।

भाद्र ८, २०८२

शंकर आचार्य

Diarrhea patients, cholera confirmed in 41 in most hospitals in Birganj

What you should know

पर्सा — वीरगन्जमा हैजाको प्रकोप फैलिइरहेको छ । यहाँस्थित दर्जन बढी अस्पतालमा १ सय २९ झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । तीमध्ये ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । शनिबार रातिसम्म ती अस्पतालमा ९२ जना उपचारका लागि भर्ना भएकोमा आइतबार १ सय २९ जना भर्ना भइसकेका छन् ।

नारायणी अस्पतालमा ३३ जना भर्ना भएकोमा १५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । तराई अस्पतालमा ३५ जना भर्ना भएकोमा १२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । एड्भान्स अस्पतालमा १४ जना भर्ना भई उपचाररत छन् । नेसनल मेडिकल कलेजमा १४ जना भर्ना भएकोमा ६ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

आशाराम, भवानी र अली अर्थो अस्पतालमा २/२ जना उपचाररत रहेकोमा भवानी र अली अर्थो अस्पतालका २/२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । प्रभु र सर्वोत्तम अस्पतालमा ४/४ जना झाडापखालाका बिरामी उपचाररत छन् । सूर्या अस्पतालमा १ जना झाडापखालाका बिरामी उपचाररत छन् । नारायणी सेन्टर अस्पताल र मंगलम अस्पतालमा २/२ जना संक्रमित पुष्टि भएका छन् । अधिकांश बिरामी वीरगन्ज महानगरपालिका वडा नं. ११, १२, १६ र १८ का हुन् ।

अस्पतालमा भर्ना भएका हैजा संक्रमितमध्ये एक जनामात्र उपचारपछि घर फर्किएका छन् । हैजा संक्रमण फैलिने मुख्य कारण तथा स्रोतको बारेमा अनेक अड्कलबाजी भइरहे पनि आधिकारिक रूपमा अझै पनि हैजाको मुख्य स्रोतबारे जानकारी आउन सकेको छैन ।

हैजाबाट हालसम्म कसैको मृत्यु नभएको स्थानीय प्रशासनको दाबी छ । दुई जनाको मृत्यु हैजासँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट भए पनि तिनको स्वास्थ्य परीक्षण नगरिएकाले तिनको मृत्युको कारण हैजानै हो भनी यकिन गर्न नसक्ने दाबी प्रशासनको रहँदै आएको छ । शुक्रबार वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्जकै  ३५ वर्षीय युवक र १९ वर्षीया युवतीको मृत्यु भएको थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully