बन्द पार्कमा बर्सेनि बजेट

तीन वर्षयता राजविराज नगरपालिका र डिभिजन वन कार्यालयले ४४ लाख ३७ हजार रुपैयाँ बजेट खर्च गरिसक्दा पनि संरचना जीर्ण छन् । 

भाद्र ८, २०८२

विद्यानन्द राम

Annual budget on closed parks

What you should know

राजविराज — सप्तरीको राजविराज नगरपालिका–७ मुख्य बजारस्थित साकेतचन्द्र मिश्र पार्क वर्षौंदेखि बन्द छ । तर, राजविराज नगरपालिका र डिभिजन वन कार्यालयले आलोपालो गरी बर्सेनि बजेट भने खर्च गरिरहेका छन् ।दुवै कार्यालयले तीन वर्षयता ४४ लाख ३७ हजार रुपैयाँ बजेट खर्च गर्दा पनि सो अनुपातमा काम भने देखिँदैन । 

डिभिजिन वन कार्यालयले आर्थिक वर्ष ०७९/०८० मा पार्क मर्मतसम्भार गर्न १४ लाख ४३ हजार, गत वर्ष पार्क पुनर्निर्माण तथा सौन्दर्यकरणका लागि १४ लाख ९४ हजार र नगरपालिकाले अघिल्लो वर्ष १५ लाख रुपैयाँ खर्च गरेको छ । तर, वर्षौंदेखि बन्द पार्क अझै सञ्चालनमा आएको छैन । बर्सेनि बजेट खर्चिंदासमेत पार्कको अवस्था जीर्ण छ ।

मूलगेटको माथिल्लो भागमा नै चिरा परेको छ भने बायाँतिरको भागमा चर्किएर झर्न थालेको छ । घेराबेरा गरिएका पर्खाल पनि ठाउँ–ठाउँमा चर्किएर जीर्ण अवस्थामा छन् । डिभिजन वन कार्यालयले त्यही पर्खाल मर्मतका नाममा रंगरोगन गर्दै १४ लाख ४३ हजार रुपैयाँ सिध्याएको छ भने पछिल्लो बजेटबाट लाइटसहितका कार्य गरेको कार्यालयको दाबी छ । तर, उपभोक्ता समितिसँग मिलेमतो गरी बजेट सिध्याउने कार्य मात्र भएको स्थानीयको आरोप छ । 

Annual budget on closed parks

डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले माथिबाटै तोकेर बजेट पठाउँदा काम गर्न बाध्य भएको बताए । ‘पहिले पनि बजेट हालेको विषय मलाई जानकारी थिएन तर पछिल्लो पटक मन्त्रालयबाट तोकेरै बजेट आउँदा लाइटसहित अन्य काम गराएको छु,’ उनले भने ।

गरपालिकाकी कार्यवाहक मेयर इसरत प्रविनले यसपटक पार्क सञ्चालन गर्ने योजना रहेको बताइन् । ‘पार्कमा रमाउने खालका इक्युपमेन्ट नभएर सञ्चालन गर्न सकिएको छैन,’ उनले भनिन्, ‘डिभिजन वनले पनि बजेट खर्च गर्न लाग्दा नगरपालिकासँग समन्वय गरेको भए अहिले सञ्चालनमा आइसक्थ्यो तर त्यहाँबाट के–के काम भएको छ, त्यो मलाई जानकारी छैन ।’

यसपटक बालबालिका रमाउने खालका सामग्रीहरू राखेर पार्क सञ्चालन गर्ने उनको भनाइ छ । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully