जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले जनचेतना कार्यक्रम र उपचार तयारी गर्न सबै अस्पताललाई निर्देशन दिएको छ।
पर्सा — वीरगन्ज महानगर क्षेत्रमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जिल्लाका सबै अस्पतालमा झाडापखालाका बिरामीलाई पहिलो प्राथमिकता राखी समयमा उपचार गराउने लगायतका निर्णय गरेको छ ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा शनिबार सम्पन्न समितिको बैठकले उक्त निर्णय गरेको हो ।
समितिका अन्य निर्णयमा झाडा पखाला कोलेरा रोकथामका लागि सबै सरोकारवालाको समन्वयमा व्यापक रूपमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुरु गर्ने, संक्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा डेडिकेटेड शैया छुट्याइ उपचार गर्न थप जनशक्तिको व्यवस्थापन गरी पूर्ण तयारी अवस्थामा रहन सबै स्पताललाई जानकारी गराउने निर्णयसमेत समितिले गरेको छ ।
स्वास्थ्य कार्यालय पर्साले उपचारका लागि आवश्यक औषधि तथा परीक्षण किटको व्यवस्थापन गर्ने, सरसफाइ प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला समूहहरूको प्रभावकारी परिचालन गर्न वीरगन्ज महानगरपालिकालाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ । 
झाडापखाला, कोलेरा हैजा रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, मिडिया, सञ्चारकर्मी, विभिन्न दातृ संस्थाहरूको समन्वय एवं सहयोगमा आवश्यक सामग्रीको व्यवस्थापन गरी सचेतना जागरण सघन रूपमा सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको अर्को बैठक आइतबार दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय, पर्सामा बस्ने निर्णय समेत गरिएको छ ।
