तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँस्थित खोला बाँधेर धान पटाउन थालिएको हो ।
राजविराज — जसोतसो जोहो गरेर रोपाइँ गरिएको धान पनि सुक्न थालेपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका किसानले खाँडो खोला बाँधेर पानी पटाउन थालेका छन् । उनीहरूले वडा नम्बर २ लौनियाँस्थित खोला बाँधेर धान पटाउन थालेका हुन् ।
केही साताअघि यहाँ सामान्य वर्षा भएपछि किसानले पम्पिङ सेट र मोटरबाट पानी तानेर धान रोपेका छन् । तर, वर्षा नहुँदा प्रति कट्ठा तीनदेखि पाँच हजारसम्म लगानी गरेर रोपिएका धान पनि सुक्न थालेपछि किसान चिन्तित बनेका थिए ।
‘किसान चिन्तित भइरहँदा गाउँपालिका र वडा कार्यालयको सहयोगमा बिहीबारदेखि नै खोला बाँध सुरु गरेका थियौं,’ सोही वडाका वडाध्यक्ष कमलकुमार मण्डलले भने, ‘अहिले खोलाको पानीले खेत सिँचाइ हुन थालेपछि किसानमा हर्ष छाएको छ ।’
उनका अनुसार खोलाको पानी लौनियाँ र नम्बर १ तिलाठीका ३ देखि ४ सय बिघा खेतमा पानी पुर्याइने छ ।
