भ्रष्टाचारी ठहर भएका सर्लाहीका कांग्रेस सभापति सिंहले दिए राजीनामा 

सिंहलाई विशेष अदालतले तत्कालीन मनुस्मारा सिंचाइ आयोजनाको जल उपभोक्ता समिति अध्यक्ष रहँदा भ्रष्टाचार मुद्दामा केही समयअघि दोषी ठहर गरेको थियो ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Sarlahi's Congress president Singh, who was found to be corrupt, resigned

सर्लाही — भ्रष्टाचारी ठहर भएका कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् ।

जिल्ला सभापति सिंहले पार्टी केन्द्रीय सभपाति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि दायर भएको मुद्दामा अदालतले दिएको आदेशलाई स्वीकार गर्दै राजीनामा दिएको सिंहले उल्लेख गरेका छन् । उनले आफूमाथि अन्याय भएको र यसका लागि कानुनी लडाइँ जारी राख्ने पनि जनाएका छन् ।

सिंहलाई विशेष अदालतले तत्कालीन मनुस्मारा सिंचाइ आयोजनाको जल उपभोक्ता समिति अध्यक्ष रहँदा भ्रष्टाचार मुद्दामा केही समयअघि दोषी ठहर गरेको थियो । विशेषको फैसला सदर गर्दै सर्वोच्च अदालतले समेत उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रकम बिगो भराउने फैसला गरेको थियो ।

सर्वोच्चको फैसलापछि पनि सिंहले सभापतिको रुपमा काम गर्दै आएका थिए । 

अदालतले भ्रष्टाचारी ठहर गरे पनि जिल्ला सभापति सिंहले राजीनामा नदिएको भन्दै इतरपक्षका नेताहरु केन्द्रीय पार्टी कार्यालय सानेपामा पुगेर धर्नामा बसेका थिए । केन्द्रको दबाब र जिल्लाकै पार्टीका नेताहरुले समेत बारम्बार राजीनामा माग गर्न नछाडेपछि सिंहले पार्टी सभापति देउवालाई भेटेरै राजीनामा बुझाएका हुन् ।

पार्टीभित्र संस्थापन पक्षका सिंहले सभापतिबाट राजीनामा दिए पनि कार्यवाहक जिल्ला सभापति तोक्न बाँकी छ ।

कान्तिपुर

Link copied successfully