प्रहरीले उनीहरुलाई बिहीबार अपराह्न सवा ४ बजेतिर वीरगञ्ज–२ घुसुकपुर इदगाह चोकबाट पक्राउ गरेको हो
पर्सा — प्रहरीले वीरगन्जबाट १४ लाखभन्दा बढी हुण्डीको रकमसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नगरपालिका–४ का ४१ वर्षीय शनिकुमार ठाकुर छन् ।
प्रहरीले उनीहरुलाई बिहीबार अपराह्न सवा ४ बजेतिर वीरगञ्ज–२ घुसुकपुर इदगाह चोकबाट पक्राउ गरेको हो । साह र ठाकुर चढेको क्रमशः भारतीय नम्बर प्लेट बिआर ०५ एबि ७७०६ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकललाई रोकी जाँच गर्दा ती मोटरसाइकलमा फल्ससिलिङ बनाइ लुकाइराखेको अवस्थामा स्रोत नखुलेको नेपाली १ हजार दरका १ हजार थान गरी १० लाख र ५ सय दरका ८ सय २७ थान गरी ४ लाख १३ हजार ५ सय गरी कूल १४ लाख १३ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १ सय २५ बमोजिम हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।
