आदित्य बिरला र आइपीएल कम्पनीले ५५ हजार टन डिएपी मल वीरगन्ज हुँदै भित्रिइरहेका छन्, जसमा प्रादेशिक कार्यालयले २१ हजार टन पाउनेछ।
What you should know
पर्सा — माग नभएको बेला वीरगन्ज नाका हुँदै कृषि सामग्री कम्पनीको ठूलो परिमाणमा डिएपी मल धमाधम भित्रिन थालेको छ । हाल धान बालीका लागि डिएपी मलको माग छैन ।
हाल युरिया मलको चर्को माग रहेको छ । कम्पनीले ग्लोबल टेन्टरबाट भित्र्याइरहेको दुई वटा कन्साइन्मेन्टको मल हाल वीगन्ज नाका हुँदै भित्रिरहेको छ ।
कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, डेढ साता यता आदित्य बिरला कम्पनी र भारतको आइपीएल कम्पनी आपूर्तिकर्ता रहेको छुट्टाछुट्टै कन्साइन्मेन्टको डिएपी मल क्रमशः भित्रिरहेको छ ।
आदित्य बिरला कम्पनीले ३० हजार टन डिएपी मल ल्याइरहेको छ भने आइपीएलले २५ हजार टन डिएपी मल ल्याइरहेको छ ।
साउनको अन्तिम सातादेखि यी आपूर्तीकर्ता कम्पनीले सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशन र सिर्सिया सुक्खा बन्दरगाहमा मल ल्याई रहेका छन् ।
दुबै आपूर्तिकर्ताले दुई दुई वटा र्याकमा गरी मल ल्याइरहेका छन् । एक रेल्वे र्याकले सामान्यतया २ हजार ५ सय टन मल बोक्छ । पहिलो कन्साइन्मेन्टको ३० हजार टन मल मध्ये वीरगन्ज प्रादेशिक कम्पनीले ११ हजार ५ सय र दोस्रो कन्साइन्मेन्टको २५ हजार टन मध्ये ९ हजार ५ सय टन मल पाउनेछ ।
बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले पाउने पाण्डेले बताए । हाल डिएपी मलको माग नरहे पनि आउँदो गहुँ बाली सिजन तथा उखु बालीका लागिसमेत यो मल उपयोगी हुने पाण्डेले बताए ।
कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशकासमेत गरी १६ जिल्लामा मल परिचालन गर्छ ।
