घण्टाघरमा नाराबाजीसहित पार्टीका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
पर्सा — सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिनका लागि जारी गरेको परमादेशको विरोधमा जनता समाजवादी पार्टी नेपालले बिहीबार वीरगन्जमा प्रदर्शन गरेको छ ।
यहाँस्थित घण्टाघरमा नाराबाजीसहित पार्टीका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘उपेन्द्र यादवमाथि षड्यन्त्र बन्द गर’, ‘मधेस आन्दोलनको अपमान बन्द गर’ जस्ता नारा लगाएका थिए ।
विरोध सभामा जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पूर्वाग्रहपूर्ण तरिकाले फसाउन खोजिएको आरोप लगाए । उनले सर्वोच्चको आदेशलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै मधेसमा फेरि आन्दोलन चर्किने र रणभूमि बन्ने चेतावनी दिए ।
जसपा नेपालका केन्द्रीय सदस्य सिंहासन साह कलवारले अदालतको कदमले मधेसी जनताको हक अधिकार र पहिचानको आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको बताए ।
