गौशाला नगरपालिका–५ मा भाडामा लिएको घरबाट १८ लाख मूल्य बराबरका भन्सार छलीका लत्ताकपडा र हरिणको छाला बरामद गरिएको छ।
महोत्तरी — गौशाला बजारमा भाडाको घरमा भन्सार छलीका लत्ताकपडा र हरिणको सुकेको छालासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
गौशाला नगरपालिका–५, गौशाला बजारस्थित सुबोध यादवको एकतले पक्की घर भाडामा लिएर बसेका भारत, पश्चिम बंगाल प्रान्त, कोलकाताका ३६ वर्षीय मनोज रायलाई भन्सार छलीका लत्ताकपडा र हरिणको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कमान्डमा खटिएको प्रहरी टोलीले रायले भाडामा लिएको घर खानतलासी गर्ने क्रममा १८ लाख मूल्य बराबरको भन्सार छलीका लत्ताकपडा र एक थान हरिणको सुकेको छाला बरामद गरेको हो।
भन्सार छलीका लत्ताकपडा आवश्यक कारबाहीका लागि भन्सार बुझाइएको र आखेटोपहार सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए।
