मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा. शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिकाकुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महोत्तरी — महोत्तरीको जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई सेवामा लापरबाही गरेको भन्दै मधेश प्रदेश सरकारले स्पष्टीकरण सोधेको छ ।
प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृतसहित चारजना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा. शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिकाकुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहलाई महोत्तरीस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि र सरोकारवालाहरुले प्रादेशिक अस्पताल जलेश्वरमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको ब्यहोरा दर्शाउँदै मंगलबार ज्ञापनपत्र बुझाएका थिए ।
मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रअनुसार अस्पतालबाट सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहिता पालना नगरेको तथा कार्यसम्पादनमा लापरबाही गरेको आरोप छ । स्पष्टीकरण समयमा नआएमा र चित्तबुझ्दो जवाफ नपाएमा सेवाप्रवाहमा लापरबाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रियाअघि बढाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले बताए ।
