निलम्बित सांसद शर्माको २९औँ पेसी पनि स्थगित

सशस्त्र प्रहरी असई विकको हत्या केसमा महोत्तरी अदालतले सात जनालाई जन्मकैद सुनाएको छ, दुईलाई भने सफाइ दिइएको छ।

भाद्र ४, २०८२

कमलेश ठाकुर

Suspended MP Sharma's 29th pay is also postponed

जनकपुरधाम — निलम्बित सांसद अभिराम शर्माको २९औँ पेसी स्थगित भएको छ । बुधवार उच्च अदालत जनकपुरमा २९औँ पेसी लगाएको कारणले स्थगित भएको हो । न्यायाधीश राजुराम सिलवाल र जगदीश घिमिरेको इजलासमा पेशी तोकिएको थियो तर पेशी निरन्तर नवौँ पटक स्थगित भएको हो ।

गएको वैशाख २४ गते आदेश दिइएको थियो । त्यसयता निरन्तर पेशी स्थगित हुँदै आएको छ । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले उनीसहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापडलाई भने सफाइ दिएको थियो ।

२०८० वैशाख १ गतेदेखि उच्च अदालतमा मुद्दा चलिरहेको छ । २९ पटक पेशी चढेको यस मुद्दामा १७ पटक विभिन्न कारणले स्थगित, ६ पटक आदेश र ६ पटक हेर्न नभ्याइने सूचीमा राखिएको देखिन्छ ।

दोस्रो कार्यकालमा शर्मा प्रदेश सांसद हुँदा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको फैसला सुनाइएको थियो । त्यसपछि प्रदेशसभाले उनलाई २०८० वैशाख १८ गते निलम्बन गरेको थियो । निलम्बित सांसद शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र राय प्रतिवादी रहेका छन् । दोस्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा असई विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोप उनीहरूलाई छ ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully