रौतहटमा छुरा प्रहार हुँदा युवकको मृत्यु

घटनालगत्तै प्रहरीले छुरा प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको छ ।

भाद्र ४, २०८२

शिव पुरी

A young man died after being stabbed in Rautahat

रौतहट — रौतहटको गौर नगरपालिका–८ स्थित बाँसघारी नजिक बुधबार युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट युवकको मृत्यु भएको छ । प्रहरीले छुरा प्रहार गर्नेलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–३ स्थित भण्टाघर बस्ने २० वर्षीय सनोज रामले यमुनामाई गाउपालिका–५ झुन्खुनुवा १७ वर्षीय मोहम्मद सहाबुद्दिनलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट सहाबुद्दिनको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागी सख्त घाइते भएका थिए । उनलाई घटनास्थल पुगेको प्रहरीले तत्काल उपचारका लाग‍ि प्रादेशिक अस्पताल गौर लगेको थियो । उनको अस्पतालमै मृत्यु भएको प्रहरी निरीक्षक रुद्र कडेलले बताए ।

घटनालगत्तै प्रहरीले छुरा प्रहार गर्ने रामलाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट प्रहरीले चक्कु र लागूऔषध गाँजा (वाटर गनसहित) फेला पारेको छ ।

छुरा प्रहार अघि उनीहरुबीच वादविवाद भएको थियो । के कारणले विवाद भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully