सात वर्षसम्म खुलेन रहस्य : वृद्ध दम्पतीको हत्या कसले गर्‍यो?

सप्तरीमा ८ जना एसपी फेरिए तर प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।

भाद्र २, २०८२

विद्यानन्द राम

Unsolved mystery for seven years: Who killed the old couple?

What you should know

राजविराज — हरेक बिहान बाहिर हिँडडुल गरिरहने वृद्ध दम्पतीको घरको मूलढोका ८ बजेसम्म पनि खुलेको थिएन । स्थानीयले बिरामी परेको हुन सक्ने आशंका गरी ढोकामा पुगेर धेरैपटकसम्म बोलाए । तर, दम्पतीमध्ये कसैले पनि जवाफ फर्काएनन् ।

स्थानीय अझ सशंकित भइरहेका थिए । घर अगाडि एक दर्जनभन्दा बढी बजारवासी भेला भइसकेका थिए ।

दम्पती सहयोगी र सबैसँग मिल्ने भएकाले पनि अनेकथरी शंका गरेर उनीहरु अत्यधिक चिन्तित भइरहेका थिए । बाहिर कुरेर बस्नुभन्दा पनि उनीहरुले पश्चिमतिरको पर्खाल नाघेर एक जनालाई भित्रै पसाएर दुवै जनाको अवस्था बुझ्ने निधो गरे ।

बाँसको भर्‍याङ राखेर एक जनालाई पर्खालमाथिसम्म पुर्‍याइयो पनि । जब ती व्यक्तिले पर्खालमाथिबाट आँगन र घरको अवस्था देखे, नि:शब्द बने । आँगनभरि रगतका छिट्टा थियो भने घर जलेर खरानी बनिसकेको थियो । ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया पत्नी बेचनीदेवी साहको शरीर पूर्ण रुपमा जलिसकेको थियो ।

२०७५ फागुन १४ गतेको सो घटनाले सप्तरीको खडक नगरपालिका–५ खरचुहिया बजारवासी नै त्रसित भए । पूर्व-पश्चिम राजमार्गसँगैको घरमा भएको सो घटनापछि इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोना तथा जिल्ला प्रहरी कार्यालयका टोली घटनास्थल पुगे।

तत्कालीन एसपी राजेन्द्र विष्ट नेतृत्वको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानबाट वृद्ध दम्पतीको जलाएर हत्या भएको पुष्टि गर्दै थप अनुसन्धान अघि बढाएको थियो । डकैती गर्ने नियतले आएकाहरुले हत्या गरेको आशंका गरी थालिएको अनुसन्धानमा प्रदेश प्रहरी कार्यालय जनकपुरको विशेष अनुसन्धान टोली, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फोरेन्सिक टिम र तालिमप्राप्त कुकुरको पनि सहायता लिइएको थियो ।

वृद्ध दम्पतीको शरीर पूर्ण रुपमा जलिसकेकाले डीएनए परीक्षण समेत गराई हत्यारा पत्ता लगाउन ३० जनाको संयुक्त अनुसन्धान टोलीले केही साता घटनास्थलमै बसेर अनुसन्धान गर्‍यो पनि । 

Unsolved mystery for seven years: Who killed the old couple?

सोही बेला २०७६ जेठ ७ मा एसपी विष्ट सरुवा भएँ । उनको ठाउँमा जेठ १७ मा मनोज यादव आए । तीन महिना नबित्दै उनी भदौ १७ मा सरुवा भए । घटना पनि सेलाउँदै गयो । भदौ १८ मा आएका कृष्ण प्रसाईं पनि एक वर्ष बसेर ०७७ भदौ ७ मा सरुवा भए । तर, घटनाको कारण उजागर भएन । 

उनीपछि पनि सप्तरीमा पाँच जना एसपी फेरिए । तर, ७ वर्षसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन भने घटना नै रहस्यमय रहँदा पीडित परिवारले न्याय पाउन सकेका छैनन् । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय कडरबोनासँग थप बुझेर प्रतिक्रिया दिन सक्ने बताए । तर, उनी दुई दिनसम्म पनि घटनाको प्रगतिबारे स्पष्ट हुन सकेका छैनन् । ‘अनुसन्धानको प्रगति खासै नहोला तर फाइल हेरेर अपडेट गराउन मैले इलाकामा भनिसकेको छु,’ उनले भने । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully