तराईका सहरका नेवार समुदायले यो जात्रा कमै मान्ने चलन रहे पनि वीरगन्जमा भने परम्परागत जात्राले निरन्तरता पाइरहेको छ ।
पर्सा — वीरगन्जका नेवार समुदायको भीमसेन जात्रा आइतबार राति वीरगन्जमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । साढे ७ बजे निस्किएको रथ यात्रा राति करिब ९ बजे प्रसाद वितरणपछि सम्पन्न भएको थियो ।
जात्रामा सम्भावित झडपलाई दृष्टिगत गरी नेपाल र सशस्त्र प्रहरीका गरी करिब ३ सय सुरक्षाकर्मी परिचालित थिए । परम्पराअनुसार बर्सेनि जात्राको दिन विर्ता माई मन्दिरबाट डोलासहित जात्रा निस्कन्छ । जात्रा वीरगन्जको मुख्य सडकबाट गहवामाई मन्दिर भएर गहवा टोल हुँदै पुनः विर्तामाई मन्दिरमा पुगी सम्पन्न हुने गर्छ ।
विगतमा जात्रा गहवा पुग्दा त्यहाँ युवाहरुले डोला खोस्ने प्रयास गर्दा विर्ता र गहवाका युवा समूहबीच झडप हुने गर्थ्यो । जात्रामा यहाँका नेवार समुदायबाहेक गैरनेवार समुदायको पनि उपस्थिति हुने गर्छ । जात्रामा ‘लियो लियो, पायो पायो’ नारा सहभागीहरुले लगाउने गर्छन् ।
नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा अर्चना गर्छन् । जात्राले आर्थिक समद्धि, वैभव, सुस्वास्थ्य र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
तराईका सहरका नेवार समुदायले यो जात्रा कमै मान्ने चलन रहे पनि वीरगन्जका नेवार समुदायले भने परम्परागत जात्रालाई निरन्तरता दिइरहेका छन् ।
