वन्यजन्तुबाट जोगाउन छाडिएको बिजुलीले दम्पतीको ज्यान गएपछि स्थानीय आक्रोशित हुँदै विद्युतीय धरापको तुरुन्त नियन्त्रणको माग गरेका छन्।
राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिका–८ पिप्रामा वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परेर एक दम्पतीको मृत्यु भएको छ ।
शनिबार साँझ खेतमा काम गरेर फर्किरहेका स्थानीय ५० वर्षीय बद्री सरदार र उनकी पत्नी ४५ वर्षीय विमलादेवी सरदारको मृत्यु भएको हो ।
वन्यतन्तुबाट खेतबाली जोगाउन सोही ठाउँका दुर्गानन्द चौधरी र महेन्द्र चौधरीले आफ्ना खेतमा नाङ्गो तारले घेरेर त्यसमा बिजुली छाडेका थिए ।
साँझ साढे ८ बजे घर फर्किरहँदा बाटोमा पर्ने सो तारमा दम्पतीलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
घटनाबारे ईलाका प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनापछि स्थानीय आक्रोशित छन् भने खेतबाली जोगाउने नाममा नाङ्गो तारले घेरेर खेतमा थाप्ने गरेको विद्युतीय धराप नियन्त्रण हुनुपर्ने माग गरिरहेका छन् ।
