पर्सामा ९८ प्रतिशत रोपाइँ : कृषि ज्ञान केन्द्र

केन्द्रका सूचना अधिकृत उमेश थापाले गत साताको अन्त्यसम्ममा जिल्लामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

भाद्र १, २०८२

शंकर आचार्य

98 percent planting in Parsa: Krishi Gyan Kendra

पर्सा — पर्सामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पर्साले दाबी गरेको छ । केन्द्रका सूचना अधिकृत उमेश थापाले गत साताको अन्त्यसम्ममा जिल्लामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

थापाले जिल्लाका १४ वटै स्थानीय तहका कार्यालयसँग समन्वय पछि यो तथ्यांक तयार पारिएको बताए । ‘सबै पालिकाका कृषि शाखासँग समन्वय गरेर हामीले सम्बन्धित पालिकाको रोपाइँको तथ्यांक लिएका थियौं,’ उनले भने, ‘सबैको तथ्यांकबाट औसत निकाल्दा जिल्लामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको पाइयो ।’

रोपाइँ बाँकी रहेको स्थानीय तहमा अब सखुवाप्रसौनी गाउँपालिका र वीरगन्ज महानगरपालिका मात्र रहेको उनले बताए । ‘वीरगन्ज महानगरमा करिब डेढ प्रतिशत र सखुवाप्रसौनी गाउँपालिकामा पनि त्यसै हाराहारीमा रोपाइँ भएको छ,’ उनले भने, ‘अन्य पालिकामा पनि थोर बहुत रोपाइँ बाँकी छ ।’

अब यसभन्दा बढी जिल्लामा रोपाइँ नहुने उनले बताए । अघिल्ला वर्षहरूमा पनि यसै हाराहारीमा रोपाइँ हुने गर्थ्यो । कुनै पनि वर्ष जिल्लामा शत प्रतिशत रोपाइँ नहुने उनले बताए ।  

पर्सामा यस वर्ष करिब ३९ हजार देखि ४० हजार हेक्टर जग्गामा बर्खे धानको खेती गरिएको छ । गत वर्ष पनि यसै हाराहारीमा बर्खे धान बालीको खेती भएको थियो । धान बाली जिल्लाको प्रमुख बाली हो । जिल्लाका १४ वटै स्थानीय तहमा प्रमुख बालीको रूपमा धानको खेती गरिन्छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully