झडपमा नगरप्रमुखसहित पाँच घाइते 

झडपमा देवाही गोनाहीका नगर प्रमुख प्रेमलाल साह गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

श्रावण ३१, २०८२

शिव पुरी

Five injured including the mayor in the clash

रौतहट — रौतहटको धरहरी गाउँमा शनिबार कृष्ण जन्माष्टमी मेला उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुखसहित पाँच जना घाइते भएका छन् ।

देवाही गोनाही नगरपालिका–९, धरहरीमा कृष्ण जन्मअष्टमी मेलाको उद्घाटन (रिबन काट्ने) कार्यक्रमलाई लिएर विवाद उत्पन्न हुँदा झडप भएको हो । झडपमा देवाही गोनाहीका नगर प्रमुख प्रेमलाल साह गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

झडपको घटनामा प्रहरी जवान जगदीश यादव र घनशंकर ठाकुरलगायत ५ जना घाइते भएका छन् । नगर प्रमुख साहलाई तत्कालै उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टिस्पेसियालिटी अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा १५ वटा टाका लागेको छ ।

इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीका अनुसार धरहरीस्थित कृष्ण मन्दिरमा लाग्ने मेला उद्घाटन गर्न नगरप्रमुख साहले जोड दिएपछि विवाद सुरु भएको हो । 

धार्मिक कार्यक्रम भएकाले राजनीतिक कार्यक्रम जस्तै नगर्न नगरप्रमुख साहलाई स्थानीयले सुझाव दिएका थिए । उनले उद्घाटन गर्नुपर्छ भने पछि दुवै पक्षबीच झडप भएको हो । 

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले धरहरी टोलका राधामोहन साह, विनोद साह र रीतिक साहलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully