हात, टाउको र शरीरमा चोट लागेका यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
राजविराज — सप्तरीको राजविराज बजारमा शुक्रबार बिहान एक समूहले पत्रकार सौरभ यादवमाथि चक्कु प्रहार गरेको छ ।
अस्पतालको दक्षिणी गेटअगाडि उभिरहेका यादवमाथि मोटरसाइकलमा आएका तीनमध्ये दुई जनाले चक्कु, हेलमेट र पेटीले अन्धाधुन्ध प्रहार गरेका हुन् । प्रत्यक्षदर्शीले लखेटेपछि तीनैजना मोटरसाइकलमा चढेर फरार भएको पत्रकार प्रवेशकुमार मिश्रले बताए । उनी घटनास्थलमै थिए ।
हात, टाउको र शरीरमा चोट लागेका यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । उनी 'नयाँ पत्रिका' दैनिकका सप्तरी संवाददाता हुन् ।
पत्रकार यादवका अनुसार घटनामा क्याप्टेन भनिने कृष्णनाथ यादव, राजु यादव र राजबाबु झा संलग्न छन् ।छिन्नमस्ता गाउँपालिका–१ वीरपुरका कृष्णनाथ, राजविराज नगरपालिका–११ का राजु र विष्णुपुर गाउँपालिका–७ का राजबाबुले समाचार लेखेको विषयलाई लिएर चक्कु प्रहार गरेको उनको भनाइ छ ।
सप्तरीका एसपी गौतमकुमार केसीले चक्कु प्रहार गर्नेहरुको पहिचान भइसकेको भन्दै खोजी कार्य तीव्र पारिएको बताए । ‘उनीहरुलाई नियन्त्रणमा लिन टोली खटाइसकेका छौं,’ उनले भने ।
घटनापछि नेपाल पत्रकार महासंघ सप्तरी र प्रेस मञ्च सप्तरीले विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गरेका छन् । घटनाले प्रेस र अभिव्यक्ति स्वतन्त्रता तथा कानुनी शासनमाथिको खुला चुनौती रहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरिएको छ ।
