विमलाकुमारी ध्रोङचिङको आत्महत्या प्रकरणमा यादवलाई आत्महत्या दुरुत्साहन र अनुचित लेनदेन मुद्दामा धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।
What you should know
जनकपुर — ९ वटा तमसुक, २३ वटा लालपुर्जा र पाँच वटा चेकसहित पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका-९ का राजकिशोर यादवलाई धनुषा जिल्ला अदालतले धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले ५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको हो ।
मिथिला नगरपालिका–८ की विमलाकुमारी ध्रोङचिङ मगर (ऋणी) ले साहु राजकिशोरको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् । त्यसपछि प्रहरीले यही साउन २ गते यादवलाई पक्राउ गरेको थियो ।
मृतक परिवारकै जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि आत्महत्या दुरुत्साहन र अनुचित लेनदेन मुद्दा दायर गरेको थियो। यादवलाई आत्महत्या दुरुत्साहनमा बुधबार चार लाख धरौटीमा छोड्ने आदेश दिएको थियो भने आज अनुचित लेनदेन मुद्दामा पनि धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।
यादवले गत असार ३२ गते मिथिला नगरपालिका–८ की ३४ वर्षीया विमलाकुमारी ध्रोङचिङ मगरको घर पुगेर गालीबेइज्जती गर्दै जेल पठाउने धम्की दिएका थिए ।
त्यसको भोलिपल्ट विमलाले साहु यादवको नाम उल्लेख गर्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् । प्रहरीले यादवलाई पक्राउ गरेर घरको तलासी गर्दा ९ वटा तमसुक, २३ वटा लालपुर्जा र विभिन्न बैंकका चेक बरामद गरेको थियो ।
