सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

फनिलालको आफ्नै घरमा धारिलो हतियार प्रहार गरी भएको हत्यामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

श्रावण २९, २०८२

विनय आजाद

Two arrested in Siraha elderly murder case, seven days extension

सिरहा — सिरहाको धनगढीमाई नगरपालिका-११ आमचोकका ८५ वर्षीय फनिलाल यादवको हत्या घटनामा दुई जना पक्राउ परेका छन् । प्रहरीले दुई साताको अनुसन्धानपछि घटनामा दुई जनालाई पक्राउ गरेको हो ।

धनगढीमाई नगरपालिका-२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र सोही ठाउँका १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पत्रकार सम्मेलनमार्फत् प्रहरीले सार्वजनिक गरेको छ । यस्तै, उनीहरूमाथि थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट प्रहरीले पहिलोपटक सात दिनको म्याद पनि पाएको छ ।

गत साउन १४ गतेको मध्यरातमा फनिलालको आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार, अनुसन्धानका क्रममा चौधरीले आफूहरू त्यहाँ चोरी गर्न गएको र फनिलालले होहल्ला गर्न खोज्दा आफूले बोकेको खुकुरी शरीरको विभिन्न भागमा प्रहार गरेको बयान दिएका छन् ।

उनीहरू फनिलालमाथि धारिलो हतियार प्रहार गरी फरार भएको र अत्याधिक रक्तस्रावका कारणले उनको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लहानले संयुक्त रूपमा घटनाको अनुसन्धान गरेको थियो ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully