मधेशको पर्यटन प्रवर्द्धन गर्न भारतीय रक्षामन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधामलाई रामायण सर्किटमा विशेष स्थान दिनुपर्ने, मधेशका स्थलको अन्तर्राष्ट्रियकरणको लागि सहयोगको आवश्यकता रहेको छ।

श्रावण २९, २०८२

कमलेश ठाकुर

Memorandum to Indian Defense Minister to promote tourism in Madhesh

जनकपुरधाम — मधेश प्रदेश सरकारले ‘घुमौं मधेश, बुझौं मधेश’ नीतिलाई सार्थकता तुल्याउन भारतका रक्षामन्त्री राजनाथ सिंहलाई दश बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । बिहीबार ‘घुमौं मधेश, बुझौं मधेश’का संयोजक विकासकुमार ठाकुरले भारतको दिल्ली पुगेर मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

जनकपुर–अयोध्या धार्मिक पर्यटकको कोरिडोर बनाउनुपर्ने, भारतदेखि मधेश प्रदेशका धार्मिक स्थल पुग्न बस/रेल सेवा सुरु गर्न र अयोध्याबाट जनकपुरधाम सीधा हवाई सेवा प्रारम्भ गर्नुपर्नेलगायत मागसहित मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाइएको छ ।

पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारत सरकारले समन्वय गरेर जनकपुरधामलाई रामायण सर्किटमा विशेष स्थान दिनुपर्ने, ‘सीता बिना राम अधुरो’ रहेको उल्लेख गर्दै भारतमा पनि जनकपुरधामको प्रचार गर्नुपर्ने, अयोध्या/वाराणसीमा डिजिटल बोर्ड राखेर मधेशका धार्मिक स्थलको प्रचार गर्नुपर्ने र मधेशका प्रमुख पर्यटकीय स्थलको अन्तर्राष्ट्रियकरण गर्न सहयोग गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

भारतको पर्यटन नीतिमा मधेशका प्रमुख धार्मिक स्थललाई सीमा पर्यटन भनेर राख्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ । मधेश र भारतका धार्मिक स्थलको प्रचार–प्रसारका लागि संयुक्त रूपमा अभियान चलाउनुपर्ने उद्देश्यले भारत सरकारको ध्यानाकर्षण गराउने ज्ञापनपत्र बुझाएको संयोजक ठाकुरले बताए ।

ज्ञापनपत्रमा मधेश प्रदेशका प्रमुख धार्मिक स्थलहरूको नाम समेत उल्लेख गरिएको छ । यसले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully