दुई घरबाट सरकारी अनुदानको १९१ बोरा मल बरामद

सरकारी मल भण्डारण गरी महँगो मूल्यमा बिक्री गरिरहेको गुनासो आएपछि छापा मारिएको थियो ।

श्रावण २९, २०८२

शंकर आचार्य

191 sacks of government-subsidized fertilizer recovered from two houses

पर्सा — प्रमुख जिल्ला अधिकारीको निर्देशनमा खटिएको संयुक्त अनुगमन टोलीले विभिन्न स्थानमा छापा मार्दा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको निर्देशनमा सरोकारवाला कार्यालयका प्रतिनिधिहरु सम्मिलित अनुगमन टोलीले बुधबार अनुगमनको क्रममा सखुवा प्रसौनी गाउँपालिका–२ कटेया गाउँका दुई घरमा छापा मारेर १ सय ९१ बोरा सरकारी अनुदानको मल बरामद गरेको हो ।

टोलीले साह मोहम्मद अन्सारी र युनुस अन्सारीको घरमा छापा मारेको थियो । साह मोहम्मदको घरबाट डीएपी ९ बोरा, पोटास १८ बोरा र फस्फेट ११४ बोरा गरी १४१ बोरा मल बरामद भएको छ । युनुसको घरबाट डीएपी २७ बोरा र पोटास २३ बोरा गरी ५० बोरा मल फेला परेको छ ।

टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडका प्रतिनिधिहरू सहभागी थिए ।

बरामद गरिएको मल जिल्ला प्रहरी कार्यालयले ल्याइएको छ । मल भण्डारण गर्ने दुवै घरधनी फरार छन् । उनीहरुले सरकारी अनुदानको मल भण्डारण गरी राखेको र महँगो मूल्यमा बिक्री गरिरहेको गुनासो आएपछि छापा मारिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

यसअघि प्रजिअ अर्यालले जिल्लाभर मल वितरणमा अनियमितता रोक्न कृषि सहकारी संस्थाका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई बोलाएर पारदर्शी वितरणका लागि निर्देशन दिएका थिए । 

शंकर

Link copied successfully