जनकपुरमा पत्रकारमाथि हातपात भएको घटनामा मानवअधिकार आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालयको टोलीले नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयमा आएर घटना बारेमा जानकारी लिएका हुन् ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Human Rights Commission's interest in the incident of assault on journalists in Janakpur

What you should know

जनकपुर — जनकपुर-४ स्थित स्वर्गद्वारी छेउको जग्गा गुठी संस्थान केन्द्रीय कार्यालयसँग भएको सम्झौताअनुसार प्राप्त जग्गाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनपछि नेपाल बार एसोसिएसन जनकपुरका अधिवक्ताहरूको समूहले पत्रकारहरुलाई घेरा हाली गरेको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालयबाट मानव अधिकार अधिकृतद्वय किरण घिमिरे र राहुलकुमार ठाकुर तथा आयोगको सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झासहितको टोली नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयमा आएर घटना बारेमा जानकारी लिएका छन् । 

आयोगका कर्मचारीहरूको टोली अन्य घाइते तथा सम्बन्धित व्यक्तिहरूसँग समेत आवश्यक जानकारी लिएको बुझिएको छ

नेपाल बार एसोसिएसन जनकपुरधामका अधिवक्ता वकिलहरूको कुटाईबाट को, को घाइते भएका र उनीहरूको अवस्था हाल कस्तो रहेको बारेमा उनीहरुले जानकारी लिएका छन् । वकिलहरूको आक्रमणबाट नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिलकुमार निरालाको आँखा सुनिएको र पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको सहितका घटनाका बारेमा महासंघका मधेश प्रदेश कार्यालयले विस्तृत जानकारी गराएका थिए। 

उक्त घटनाको सत्यतथ्य र छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्दै महासंघले नेपालमा संवैधानिक सर्वोच्चता र कानुनी राज्यको मर्यादालाई कायम गराउन र दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनका लागि आयोगले आवश्यक सिफारिस गर्नुपर्ने अनुरोधसमेत गरेका थिए। 

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्ण, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, सचिव हदिस खुददार र नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरण गुप्तासहितका पत्रकारहरूको सहभागिता रहेको थियो । 

कान्तिपुर

Link copied successfully