परियारपुरका १४ वर्षीय घनश्याम यादव सोमबार बिहान बलान नदीमा डुबेर बेपत्ता भएका छन्, प्रहरी र स्थानीय खोजीमा जुटेका छन्।
सिरहा — सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीमा डुबेर बेपत्ता भएका बालकको अझै अवस्था अज्ञात छ ।
सखुवानन्कारकट्टी गाउँपालिका-३ परियारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव बलानमा सोमबार बेपत्ता भएका हुन् ।
सोमबार बिहान खेल्दै नदीतिर गएका थिए । नदीमा पुगेर नुहाउन पसेका उनी बिहान ९ बजेर ५५ मिनेट जाँदा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले करिब ११ बजे घटनाबारे जानकारी पाएको थियो ।
त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खोजतलासमा खटिए पनि उनी फेला पर्न सकेका छैनन् ।
बालकको खोजीकार्यका लागि बर्दिबासबाट गोताखोर टोली पनि आउन लागेको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी कैलाश राईले बताए ।
