शारीरिक अभ्यास गर्दागर्दै मुटु निष्क्रिय भएर वीरगन्ज कारागारका कैदीको मृत्यु

शारीरिक कसरत गर्दा अचेत भएका तुराहाको मृत्युपछि आफन्तले अस्पताल अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

श्रावण २७, २०८२

शंकर आचार्य

Death of an inmate of Birgunj Jail due to heart failure during physical exercise

What you should know

पर्सा — कारागारको जिममा शारीरिक कसरत गर्ने क्रममा अचेत भएका वीरगन्ज कारागारका एक कैदीको मंगलबार उपचारको क्रममा वीरगन्जकै नारायणी अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१७ खल्वाटोलका २८ वर्षीय राहुल कुमार साह तुराहा छन् । जेलर खेमराज भुषालका अनुसार बिहान करिब सवा ८ बजेतिर कारागारमा शारीरिक कसरत गर्ने क्रममा कैदी तुराहा अचेत भएका थिए । 

उनलाई कारागारका अधिकृत तथा स्वास्थ्यकर्मीको टोलीसहित तत्कालै उपचारका लागि नारायणी अस्पताल पठाइएको थियो । ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुराहा २०७९ सालमा कारागारमा आइपुगेका थिए ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले तुराहाको हृदयघात भएको बताए । उनले कारागारमा शारीरिक कसरत गर्दाको अवस्थामा उनी अचेत भएर लडेको बताए ।

‘अस्पतालमा ल्याउँदा बिरामीको रक्तचाप नरहेको र मुखबाट रगत तथा सेतो फिज आइरहेको अवस्था थियो,’ डा सिंह भने, ‘त्यति बेला आईसीयु कक्षमा एउटा पनि बेड खाली नरहे पनि हामीले विष सेवन गरी मृत्यु भएका अर्का बिरामीको बेड खाली गराइरहेका थियौं ।’

त्यस क्रममा बिरामीका आफन्तले रेफर गराई अन्य अस्पताल लग्ने प्रयास गरे पनि आफूहरुले बिरामीको अवस्था अत्यन्त नाजुक रहेकाले अन्यत्र लग्दा बाटोमै मृत्यु हुने सम्भावना देखेर आईसीयुमै भर्ना गर्ने प्रयास गर्दैगर्दा आकस्मिक कक्षको भेन्टिेलरमै कैदी तुराहाको मृत्यु भएको डा. सिंहले बताए । 

युवा उमेर समूहका व्यक्तिहरुमा विशेष गरी अत्यधिक शारीरिक अभ्यास गर्दा अचानक मुटु निष्क्रिय हुने घटना भइरहेको र यो पनि त्यही घटनाको पुनरावृत्ति रहेको उनले बताए । बिहान साढे ९ बजे कैदी तुराहाको मृत्यु भएको उनले बताए । 

यसअघि वीरगन्जमै एक पत्रकार र अर्का सशस्त्र प्रहरीका उपरीक्षकको पनि यसरी नै मृत्यु भएको उनले बताए । घटनापछि मृतक कैदीका आफन्तले आफूहरुले माग गर्दा पनि तुराहालाई अन्य अस्पतालमा रेफर नगरिएको र समयमा उपचार सुरु नगरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुले अस्पताल अगाडिको सडकमा टायर बालेर नाराबाजीसमेत गरेका छन् । प्रहरी उपरीक्षक मिश्रले मृतक पक्षसंग संवादको प्रयास भइरहेको बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully