वीरगन्ज कारागारमा कैदीको मृत्यु : घटनाको छानबिन गर्न समिति गठन

वीरगन्ज कारागारका कैदीको मृत्यु भएपछि आफन्तजनले नारायणी अस्पताल बाहिर दिनभरजसो प्रदर्शन गरेका थिए ।

श्रावण २७, २०८२

शंकर आचार्य

Death of a prisoner in Birgunj Jail: Committee formed to investigate the incident

What you should know

पर्सा — मंगलबार बिहान नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगन्ज कारागारका कैदी २८ वर्षीय राहुलकुमार साह तुराहाको मृत्युको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ।

मृतक कैदी साहका आफन्तजनले नारायणी अस्पताल बाहिर दिनभरजसो प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा गठित समितिमा मृतक परिवारको तर्फबाट मुकेश साह तुराहा, वीरगन्ज महानगरपालिका वडा नं २५ का वडा सदस्य जगदिश साह तुराहा, नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधि, मेडिकल एसोसिएसनका प्रतिनिधि, मानवअधिकारकर्मी, प्रहरी, अस्पताल प्रशासनका प्रतिनिधि र मृतक परिवारका सदस्य समेत रहेका छन् । समितिले मृत्युको वास्तविक कारण र दाबी गरिए जस्तो लापरबाही भए/नभएको बारे निष्कर्ष निकाल्नेछ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समितिले १५ दिनभित्र घटनाको सत्यतथ्यबारे प्रतिवेदन बुझाउने बताएका छन् । वीरगन्ज सिर्सियाका तुराहा मंगलबार बिहान वीरगन्ज कारागारमा व्यायाम गर्ने क्रममा अस्वस्थ भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका थिए । नारायणी अस्पतालका चिकित्सकले थप उपचारका लागि अन्यत्र रिफर गर्न सिफारिस गरे पनि कारागार प्रशासनले अनुमति नदिँदा उपचारमा ढिलाइ भई मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् । मृतकको परिवार र स्थानीयवासीले अस्पताल बाहिर प्रदर्शन गर्दै कारागार प्रशासन र अस्पताल दुवैको लापरबाहीबारे छानबिनको माग गरेपछि प्रशासनले कदम चालेको हो।

नारायणी अस्पताल प्रशासनले भने तुराहाको तत्कालै उपचार थालिएको र आकस्मिक कक्षबाट आईसियुमा लग्ने तयारी गर्दा आकस्मिक कक्षको भेन्टिलेटरमै तुराहाको मृत्यु भएको बताएको छ ।  

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully