वडाध्यक्षले दोहोरो नागरिकता लिएको उजुरीपछि प्रशासनले थाल्यो छानबिन

वडाध्यक्ष रामानन्द प्रसादमाथि दोहोरो नागरिकताको आरोप लागेको छ। उनले आरोप अस्वीकार गर्दै प्रतिपक्षीको षड्यन्त्र भएको दाबी गरेका छन्।

श्रावण २६, २०८२

शिव पुरी

The administration started an investigation after the complaint that the ward president took dual citizenship

What you should know

रौतहट — नेपाल र भारत दुवैतर्फबाट नागरिकता लिएको भन्दै गृह मन्त्रालयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय गौरले रौतहटको दुर्गा भगवती गाउँपालिका–४ स्थित पचरुखी छतौना गाउँका वडाध्यक्ष रामानन्द प्रसादको नागरिकता छानबिन थालेको छ । प्रशासनले छानबिनका लागि प्रहरीलाई समेत पत्राचार गरेको छ ।

वडाध्यक्ष प्रसादले दोहोरो नागरिकता लिएको भनेर गएको असार ११ मा गृह मन्त्रालयबाट पत्र आएपछि छानबिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । ‘हामीले वडाध्यक्षलाई बोलाएर पहिलो चरणमा सोधपुछ सकिसकेका छौं । उनले इन्कारी बयान दिएका छन्,’ प्रजिअ खड्काले भने, ‘थप अनुसन्धानका लागि जिल्ला प्रहरीलाई लेखेर पठाएका छौं ।’ 

प्रजिअ खड्काका अनुसार रामानन्द प्रसादले प्रशासनमा वंशजको नागरिकता पेस गरेका छन् । उनले बुवाको पनि वंशजको नागरिकता भएको बताएका छन् । प्रशासनले बुवाको पनि नागरिकता पेस गर्न भनेको प्रजिअ खड्काले जनाए । उजुरीकर्ताले दुवै देशको नागरिकतामा वडाध्यक्ष रामानन्द प्रसादकै फोटो भएको दाबी गरेको प्रशासनले जनाएको छ । 

दुवै देशको नागरिकतामा विवरण भने फरक–फरक रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको निर्वाचन आयोगले जारी गरेको परिचयपत्रमा रामानन्द प्रसादको नाम छैन । पप्पुप्रसाद यादव लेखिएको छ । बुवाको नाम सियारामप्रसाद यादव लेखिएको छ । यता नेपालको नागरिकतामा रामानन्द प्रसाद र बुवाको नाम रामचन्द्र कापड यादव लेखिएको पाइएको छ । तर दुवैमा फोटो रामानन्द प्रसादकै हो भनेर उजुरी परेको प्रशासनको भनाइ छ । The administration started an investigation after the complaint that the ward president took dual citizenship

प्रशासनले भारतीय दूतावासलाई समेत जानकारी गराएको छ । प्रजिअ खड्काले दुवै देशको नागरिकतामा वडाध्यक्षकै फोटो हो भनेर फोटोको जाँच गर्न नसकिने बताए । वडाध्यक्ष रामानन्दले आफूलाई नेपाल र भारत दुवै देशको नागरिकता भएको भनी प्रचार गरेको समाचार असत्य र प्रतिपक्षीको षड्यन्त्र भएको दाबी गरेका छन् । ‘म एउटा जिम्मेवार जनप्रतिनिधि हुँ । मबाट गैरकानुनी काम हुँदैन,’ उनले भने, ‘मैले वंशजका आधारमा नागरिकता लिएको हुँ । विपक्षीले समाजमा मेरो चरित्रहत्या गर्न लागेका छन् ।’ आफूविरुद्ध ठोस प्रमाण भेटिए जुनसुकै सजाय भोग्न पनि तयार रहेको उनले सुनाए । 

२०७९ वैशाखमा नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तह निर्वाचनमा रामानन्द प्रसाद वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले प्रशासनसमक्ष आफ्नो दोहोरो नागरिकता नभएको जिकिर गरेका छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully