दुई सातायता बारामा गण्डक नहर तीन ठाउँमा कटान गरी किसानले पानी चोरी गरेको घटना घटेको छ ।
What you should know
पर्सा — यस वर्ष खडेरी देखिएसँगै गण्डक नहरमा क्षति पुर्याएर जबरजस्ती खेतमा जबरजस्ती सिँचाइ गर्ने प्रवृत्ति पनि देखिएको छ । दुई सातायता बारामा गण्डक नहर तीन ठाउँमा कटान गरी किसानले पानी चोरी गरेको घटना घटेको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश प्रसाद साहले बाराको फेटा गाउँपालिकामा शनिबार, कलैया उपमहानगरपालिका अन्तर्गत पसाहा खोला पश्चिममा डेढ साता अघि र कलैया उपमहानगरपालिका अन्तर्गत नै मटिअर्वा चोक पूर्व दुई साता अघि नहरको डिल काटिएको बताए ।
हालसम्म नहरको उत्तरी डिल मात्र काटिएको छ । नहरको उत्तर तर्फ नहरको सिञ्चित क्षेत्र नरहेकाले त्यता आउटलेट पनि नरहेको साहले बताए । ‘नहरको सिञ्चित क्षेत्र नहर भन्दा दक्षिण तर्फ मात्र रहेकाले उत्तर तर्फका किसानले त्यसो गरेका हुन्,’ उनले भने, ‘उत्तर तर्फ बत्तीको उज्यालो नरहेको र गाडीको बत्ती पनि पुग्न नसक्ने भएकाले रातको समयमा उत्तर तर्फ सहजै नहरको डिल काट्न सफल भएका हुन् ।’
सुरुमा २/३ मिटर मात्र काटिने नहरको डिल त्यसपछि नहरको पानीको दबाबले रातभरिमा आफै ६/७ मिटर सम्म चौडा भई सक्छ । आफूहरु बारामा रातको समयमा नियमित अनुगमन गरी रहेपनि कटान भने भइनै रहेको उनले बताए । दुई वटा पुराना कटानलाई पुरी सकिएपनि तेस्रो कटान भने पुर्ने काम अझै जारी रहेको साहले बताए ।
गत साता बाराको बसतपुर क्षेत्रका किसानको ठूलो समूहले आफू सहितको कर्मचारीको टोलीलाई अभद्र व्यवहारको प्रयास गर्दै नहरको दक्षिण तर्फ डिल जबरजस्ती काटेर पानी लग्ने प्रयास गरेको साह बताउँछन् । त्यति बेला बाराका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहित प्रहरी टोली पुगेर स्थिति नियन्त्रणमा आएको थियो । अघिल्ला वर्षहरूमा यस्तो समस्या नदेखिएकोमा यस वर्ष पनि निरन्तर दोहोरिएको उनले बताए ।
