ठगी तथा लिखत कीर्ते मुद्दामा भूमि आयोग सिरहाका अध्यक्षसहित पाँच जना फरार

भूमि ठगी र फर्जी लिखतमा संलग्न रहेको आरोपमा सिरहाका दुई कर्मचारीलाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ।

श्रावण २६, २०८२

विनय आजाद

Five people absconded with the Chairman of Land Commission Siraha in case of fraud and forgery

What you should know

सिरहा — सिरहास्थित मालपोत तथा भूमिसुधार कार्यालय र भूमि समस्या समाधान आयोगका दुई कर्मचारी ठगी तथा लिखत कीर्ते मुद्दामा कारागार चलान भएका छन् । 

सिरहा जिल्ला अदालतले आइतबार मालपोतका राजकुमार राय र आयोगका संतोषकुमार यादवलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

राय मालपोतका कार्यालय सहयोगी हुन् भने यादव आयोगका कम्प्युटर अपरेटर हुन् । जिल्ला प्रहरी कार्यालय, सिरहाको अनुसन्धान प्रतिवेदन प्राप्त भइसकेपछि जिल्ला सरकारी वकिलको कार्यालय, सिरहाले गत शुक्रबार उनीहरुमाथि अदालतमा मुद्दा दायर गरेको थियो ।

जसमा आइतबार भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश गोपालप्रसाद थापाको इजलासले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतले जनाएको छ ।

यस्तै, यही मुद्दामा भूमि आयोग सिरहाका अध्यक्ष रामअधिन यादव, विष्णुपुर गाउँपालिका १ का शिवदयाल कामति, रामदयाल कामति तथा सिरहा नगरपालिका ७ का शिवकुमार राय र नगिना राय कुर्मी फरार छन् । उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

नरहा गाउँपालिका–३ का राजदेव यादव, सिरहा नगरपालिका १२ का गौतम कुमार कार्की र गोलबजार नगरपालिका ७ का मोतिलाल श्रेष्ठले उनीहरुमाथि प्रहरीमा ठगी, लिखतसम्बन्धी कसुर तथा संगठित अपराधमा छुट्टाछुट्टै जाहेरी दिएका थिए । 

तर, जिल्ला सरकारी वकिलको कार्यालयले संगठित अपराधमा अदालतमा मुद्दा नै अभियोजन गरेन । जिल्ला न्यायाधिवक्ता राजेन्द्र बहादुर बस्नेतले संगठित अपराधमा अझै अनुसन्धान आवश्यक रहेको भन्दै पछि अभियोजन गर्ने गरी हाललाई नगरिएको दाबी गरे ।

‘संगठित अपराधमा अझै अनुसन्धान गर्नुपर्नेछ, अझै प्रमाण संकलन गर्नुपर्छ,’ उनले भने, ‘यो विस्तारै पछि गर्ने गरी हाललाई रोकेका हौं ।’

सुकुम्बासीका नाममा गैरसुकुम्बासीलाई जग्गा दिने, यसका नाममा विभिन्न व्यक्तिसँग आर्थिक ठगी गर्ने, फर्जी स्रेस्ता बनाएर सरकारी छाप तथा हस्ताक्षर कीर्ते गर्नेलगायतका गैरकानुनी कार्य उनीहरुले गर्दै आएका थिए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully