सरकार र ठेकदार खोज्न भन्दै मैनबत्ती बालेर सडकमा स्थानीयसहित पूर्वमन्त्री

पूर्वसिँचाइ मन्त्री उमेशकुमार यादवले भने, ‘सडक डिभिजन कार्यालय लहानको पनि बेवास्ता उस्तै छ, यहाँका सांसद र सरकारलाई मतलब छैन ।’

श्रावण २६, २०८२

विद्यानन्द राम

Ex-minister along with locals lit candles on the streets to find the government and contractors

What you should know

राजविराज — सप्तरीको राजविराज–छिन्नमस्ता–गोविन्दपुर सडकको निर्माण कार्य सञ्चालनका लागि दबाब दिन पूर्वमन्त्रीसहित स्थानीयले सोमबार बिहान मैनबत्ती बालेर प्रदर्शन गरेका छन् । उनीहरुले ‘कहाँ छ सरकार, कहाँ छ ठेकेदार ?’ नारा लगाउँदै छिन्नमस्तादेखि विसनपुर चोकसम्म प्रदर्शन गरे । 

चार वर्षअघि नै ठेक्का लिएर ठेकदार बेपत्ता हुँदा सडकमा जताततै खाल्डाखुल्डी परेर हिँड्न समेत अप्ठ्यारो हुन थालेको उनीहरुको भनाइ छ ।

‘सडक अलपत्र पारेर ठेकदार बेपत्ता हुँदा प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र न्यौर बोर्डरसम्मको यात्रा अत्यन्तै कठिन र जोखिमपूर्ण बन्दासमेत कसैले गम्भीरता देखाएका छैनन्,’ पूर्वसिँचाइ मन्त्री उमेशकुमार यादवले भने, ‘सडक डिभिजन कार्यालय लहानको पनि बेवास्ता उस्तै छ, यहाँका सांसद र सरकारलाई मतलब छैन ।’

पदयात्रा मार्फत उनीहरुलाई ध्यानाकर्षण गराउन बाध्य भएको उनले बताए । ‘वर्षौंसम्म उनीहरुलाई नदेखेपछि हामीले मैनबत्ती बालेर खोज्न बाध्य भयौं,’ उनले थपे, ‘तत्कालै सडक निर्माण कार्य सुचारु नगराए हामी थप संघर्ष गर्छौं ।’ 

२०७९ असार २३ मा साह इन्जिनियरिङ कन्सट्र्रक्सनले सो सडक निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८१ असार ३० मा नै सडक निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, सो अवधिमा कन्सट्र्रक्सनले सडक निर्माण गर्न सकेन । पुनः एक वर्षको म्याद थपेर २०८२ असार १५ सम्म पुर्‍याउँदा पनि अहिलेसम्म २० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । 

Ex-minister along with locals lit candles on the streets to find the government and contractors

२५ करोड ८८ लाख २ हजार ९ सय ३८ रुपैयाँको लागतमा सडक निर्माण गराइरहेको सडक डिभिजन कार्यालय लहानले अहिलेसम्म ६ करोड ८८ लाख ९२ हजार १ सय ९६ रुपैयाँ भुक्तानी समेत दिइसकेको छ । तर, कन्सट्र्रक्सनको लापरबाही कायमै रहँदा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णले बताए । ‘कन्सट्र्रक्सन जिम्मेवार नदेखिँदा हामीले ठेक्का तोड्न स्पष्टीकरणसहितका सूचना निकालिसकेका छौं,’ उनले भने, ‘ठेक्का तोडेपछि सो सडक निर्माण गर्न थप प्रक्रिया अघि बढाउँछौं ।’ 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully