चौतर्फी दबाबपछि गण्डक नहरमा भारतले ७ सय क्युसेक पानी दियो

गण्डक नहरको पानीले पर्सामा शतप्रतिशत र बारामा धान रोपाइँ ९५ प्रतिशत सम्पन्न भएको छ।

श्रावण २५, २०८२

शंकर आचार्य

India gave 700 cusecs of water to Gandak Canal after pressure from all sides

What you should know

पर्सा — चौतर्फी दबाबपछि भारत सरकारले गण्डक नहरमा सात सय क्युसेक पानी दिएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर तथा सूचना अधिकृत सुरेश प्रसाद साहले तीन दिनयता नहरमा सात सय क्युसेक पानी आउन थालेको बताए ।

‘हामीले चौतर्फी दबाब दिएपछि अन्ततः भारतीय पक्षले नहरमा सात सय क्युसेक पानी दिएको छ,’ उनले भने, ‘पानीको पर्याप्तता भएपछि गण्डक नहर प्रणाली अन्तर्गतको सिँचित क्षेत्र पर्सामा शतप्रतिशत र बारामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।’

गण्डक नहर भारतबाट नेपालमा प्रवेश गर्नुअघि भैसालोटनदेखि नेपालको सीमा इनर्वा बजारसम्म नहरमा १ सय ६ वटा शाखा निस्केको र तीनमा ढोका नरहेकाले अविच्छिन्न रुपमा किसानको माग नभए पनि ती शाखा नहरबाट भारतीय किसानको खेतमा पानी जाने गरेको छ । 

आफूहरुले दबाब दिएपछि भारतीय पक्षले ती शाखा नहरको मुखमा बोरामा बालुवा हालेर मुख थुनेपछि नेपालतर्फ सात सय क्युसेक पानी आउन थालेको साहले बताए । ४५ वर्ष पुरानो नहरमा भारततर्फ शाखा नहरहरु हालसम्म बिना ढोकाकै सञ्चालनमा रहेका छन् । नेपालतर्फ भने सबै शाखा नहरमा ढोका लगाइसकिएको साहले बताए ।

नहरमा ७ सय क्युसेक पानी आउन थालेपछि हाल नहरको पानी बारा पारी रौतहट जिल्लामा पुगेको साहले बताए । ‘बारा र रौतहटको सीमामा रहेको अरुवा नदी पारी रौतहटमा नहरको १३ नम्बर ब्लक भकुवा नदी पारीसम्म पानी पुगेको छ,’ उनले भने, ‘बाराको सिम्रौनगढ क्षेत्रका किसानले रातको समयमा नहरको पानी आफ्नो माछा पोखरीमा हाल्न थालेकाले रातको समयमा पनि हामी अनुगमनमा निस्केका छौं ।’

सिम्रौनगढ क्षेत्रका किसानलाई आफूहरुले तत्काललाई धान रोपाइँलाई प्राथमिकता दिएर त्यसपछि माछा पोखरीमा पानी भर्न आग्रह गरिरहे पनि किसानले नमानेपछि रातको समयमा पनि अनुगमन गर्नुपरेको उनले बताए ।

India gave 700 cusecs of water to Gandak Canal after pressure from all sides

नहर अन्तर्गत ३७ हजार ४ सय हेक्टर जग्गा सिँचित क्षेत्र रहेकोमा पर्सामा १६ हजार हेक्टर पर्सामा र ९ हजार हेक्टर बारामा रहेको छ ।  बाँकी रौतहटमा रहेको छ । तर रौतहटमा प्रायः नहरको पानी पुग्दैन । भारतसँगको गण्डक सम्झौता अनुसार भारतले नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा त्यति पानी दिएको छैन ।

यो समस्याबारे परराष्ट्र मन्त्रालयदेखि भारतीय दोन शाखा नहर कार्यालयलाई समेत पटक–पटक पत्राचार गरी गण्डक सम्झौताको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरी दबाब दिँदै आएको साह बताउछन् ।

सम्झौता अनुसार, बर्षेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनु पर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपाल तर्फ ८१ किमी रहेको छ ।

गण्डक ब्यारेजको निर्माण भारतले आफैंले गरेको र सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्छ । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully