पूर्व राष्ट्रपति भण्डारीको उपस्थितिमा आयोजित सम्मेलनमा महिला उद्यमीहरुका लागि विभिन्न कार्यशाला र सम्मान कार्यक्रम रहनेछ।
What you should know
पर्सा — वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भदौ १४ वीरगन्जमा ‘वृहत महिला सम्मेलन २०८२’ आयोजना हुने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी सार्वजनिक गरेको हो ।
संघका अध्यक्ष हरिप्रसाद गौतमले बारा–पर्सामा लुकेर बसेका महिला प्रतिभाहरुलाई अघि ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । ‘नारी : शक्ति, समर्पण र सम्मान’ विषयक कार्यशाला गोष्ठी आयोजना हुने उक्त सम्मेलनको प्रमुख अतिथि नेपालकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहने गौतमले बताए ।
पत्रकार सम्मेलनमा संघ अन्तर्गतको महिला उद्यमशीलता विकास समितिकी संयोजक डा लक्ष्मी थापाले पर्सा–बारा जिल्लाका उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा लगायतका विभिन्न विधामा आबद्ध रही आ–आफ्ना कार्य सफलतापूवर्क सम्पादन गरी रहेको महिलाहरुको सामाजिक पहिचान र महिलाहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्य सम्मेलनको रहेको बताइन् ।
यस क्षेत्रका महिला उद्यमीहरुको नेतृत्व क्षमताको विकास, उद्योग, व्यापारको प्रवर्द्धन र समाजमा महिलाहरुले आफ्नो पहिचान स्थापित गर्न निर्वाहन गर्नुपर्ने भूमिकाका विषयमा छलफल गरी महिलाहरुलाई उद्यमशीलता, सामाजिक सेवा, राष्ट्र सेवातर्फ अभिप्रेरित गरी राष्ट्र निर्माणमासमेत महिलाहरुको भूमिकालाई उजागर गर्ने उद्देश्य सम्मेलनको रहेको डा थापाले बताइन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका सहसचिव तथा सम्मेलनका सहसंयोजक अनुप अग्रवालले सम्मेलन सात चरणमा आयोजना हुने बताए । सम्मेलनमा महिला किनोट स्पिकरहरु पनि आउने उनले बताए । यसका साथै प्यानल छलफल, मोटिभेशनल वर्कशप पनि सञ्चालन हुने उनले बताए । सम्मेलनमा आ–आफ्नो विधामा उत्कृष्ट ३० देखि ४० महिलाहरु सम्मान पनि गरिने अग्रवालले बताए ।
