जिल्ला प्रहरी कार्यालयले भारततर्फ तस्करी गर्न लुकाइएको ३९६.९ किलो गाँजा बरामद गरेको छ। प्रवक्ता डीएसपी बस्नेतले यसबारे जानकारी दिएका छन्।
राजविराज — सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट शुक्रबार झन्डै चार क्विन्टल गाँजा बरामद गरिएको छ । बिहान सबेरै गस्तीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेवारिसे अवस्थामा फेला पारेको सो गाँजा बरामद गरेको हो ।
भारततर्फ तस्करी गर्न नहर छेउमा लुकाएर राखिएको १७ पोका गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार बरामद गाँजाको तौल ३९६.९ किलो रहेको छ ।
यसअघि साउन ४ गते जिल्लाको राजगढ गाउँपालिका–३ नर्घो पछ्वारी टोलकी ४० वर्षीया रेखाकुमारी मण्डलको घरबाट पनि ३८८.७३ किलो गाँजा बरामद गरिएको थियो । त्यति बेला पनि भारततर्फ तस्करी गर्न निर्माणाधीन शौचालय र बाँसघारीमा लुकाएर राखिएको गाँजा प्रहरीले फेला पारेको थियो ।
