पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न

केन्द्रका प्रमुख रामजीवन ठाकुरले केही स्थानीय तहमा ९२ र केहीमा ९४ प्रतिशतसम्म रोपाइँ सम्पन्न भइसकेको बताए ।

श्रावण २१, २०८२

शंकर आचार्य

90 percent planting in Parsa is complete

पर्सा — तीन दिन नियमित वर्षा भएपछि पर्सामा रोपाइँको क्रम बढेको छ । खेतमा पानी नहुँदा रोपाइँ गर्न नपाएका किसान अहिले धमाधम धान रोप्न व्यस्त छन् ।

कृषि ज्ञान केन्द्र पर्साको तथ्यांक अनुसार, जिल्लामा मंगलबारसम्ममा औसतमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । केन्द्रका प्रमुख रामजीवन ठाकुरले केही स्थानीय तहमा ९२ र केहीमा ९४ प्रतिशतसम्म रोपाइँ सम्पन्न भइसकेको बताए । 

तुलनात्मक रुपमा वीरगन्ज महानगर क्षेत्रमा रोपाइँ केही कम भएको छ । तर यसै साताभित्र किसानले शत प्रतिशत रोपाइँ गरी सक्ने सम्भावना रहेको ठाकुर बताउँछन् ।

सिँचाइको अभाव रहेको खेतमा किसानले आफैं बोरिङ वा अन्य विकल्प गरेर रोपाइँ गर्न थालेकाले शनिबारसम्ममा रोपाइँ सम्पन्न भइसक्ने उनले बताए । 

पर्सामा यस वर्ष ३९ हजारदेखि ४० हजार हेक्टर जग्गामा बर्षे धानको खेती हुने सम्भावना रहेको ठाकुर बताउँछन् । गत वर्ष पनि यसै हाराहारीमा बर्षे धान बालीको खेती भएको थियो । 

धान बाली जिल्लाको प्रमुख बाली हो । जिल्लाका १४ वटै स्थानीय तहमा प्रमुख बालीको रुपमा धानको खेती गरिन्छ । अझै पनि वर्षा हुन बाँकी नै रहेकाले यस बर्ष धान बालीको उत्पादनमा धेरै कमी नआउने अनुमान ठाकुर गर्छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully