नहरमा भारतीय पक्षले अझै सम्झौताभन्दा कम पानी दिए पनि आकासे पानीका कारण अभाव देखिएको छैन ।
What you should know
पर्सा — भारतीय पक्षले दिएको साढे ६ सय क्युसेक पानी तथा आकासे वर्षासमेत हुन थालेपछि गण्डक नहरमा ब्लक नम्बर १२ सम्म पानी पुगेको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार चार दिनयता भारतले ६ सय ५० देखि ६ सय ७५ क्युसेकसम्म पानी दिन थालेको छ । यस अवधिमा दैनिकजसो वर्षासमेत भइरहेकाले नहरको पानीको माग घट्न गएको छ ।
पूर्वनिर्धारित तालिकाअनुसार नहरको पानी पाउने पालो पर्सा जिल्लाको रहे पनि पर्सामा नहरको पानीको माग घटेकाले सोमबार बारातर्फ पठाइएको उनले बताए । ‘पर्सामा हाल नहरको ब्लक नम्बर २ मा बढी पानी दिएको छ, ब्लक नम्बर ३ र ४ मा थोरै पानी दिइएको छ,’ उनले भने, ‘बाँकी पानी बारातर्फ पठाइएको छ ।’
बारामा ब्लक नम्बर १२ अर्थात् सिम्रौनगढ क्षेत्रसम्म पानी पुगेको छ । सोमबार रातिसम्म बाराको बसबरिया क्षेत्रसम्म पानी पुगेको र मंगलबार बिहान रौतहट सम्म पानी पुग्ने सम्भावना रहेको इन्जिनियर साहले बताए ।
पछिल्लो केही दिनयता आकासे पानीले साथ दिएको छ । नहरमा भारतीय पक्षले अझै सम्झौताभन्दा कम पानी दिए पनि नहरको पानी पर्याप्त हुन थालेको उनले बताए । नहरको पानी र आकासे पानी समेतले अबको दुईतीन दिनभित्रै पर्सा, बाराका सम्पूर्ण किसानले रोपाइँ सक्ने सम्भावना रहेको उनले बताए ।
भारतसँगको गण्डक सम्झौताअनुसार भारतले नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्ने हो । तर यस सिजनमा एकपटक पनि भारतीय पक्षले सम्झौताअनुसारको पानी दिएको छैन ।
