ठेकेदार कम्पनी एसडब्ल्यूइजी र रसुवागढी ज्वाईन्ट भेन्चरको सहयोगमा करिब ६ घण्टापछि सडक खुलेको प्रहरीले जनाएको छ ।
महोत्तरी — डाइभर्सन बगाएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ । पुल निर्माण भइरहेको स्थानमा बनाएको डाइभर्सन अविरल वर्षका कारण बगेपछि मंगलबार बिहानदेखि अवरुद्ध राजमार्गमा अपराह्नदेखि सञ्चालन भएको जिल्ला ट्राफिक महोत्तरीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए ।
बर्दीबास-५ स्थित जंगली क्षेत्रबाट तीव्र गतिमा आएको बर्षे भलका कारण बिहान पौने ८ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । भलले करिब ३० फिट डाइभर्सन कटान गर्नुका साथै लचकामा रहेको ह्युमपाइपसमेत बगाएको थियो । ठेकेदार कम्पनी एसडब्ल्यूइजी र रसुवागढी ज्वाईन्ट भेन्चरको सहयोगमा करिब ६ घण्टापछि सडक खुलेको प्रहरीले जनाएको छ ।
बिहानै लचका बगाएको र तीव्र गतिमा रहेको पानीको बहाव तत्काल कम हुने अवस्था नदेखेपछि हतारमा रहेका कतिपय सवारी गौशाला रोड हुँदै करिब ४० किलोमिटर घुमाउरो बाटो भएर लक्ष्मिनीयाँ चोकबाट गन्तब्यतर्फ लागेको इलाका प्रहरी बर्दीबासका डीएसपी विकाश बमले बताए ।
