किसानहरुले सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग, बगदहस्थित महालक्ष्मी चिनी उद्योग र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।
What you should know
सर्लाही — उखुमा सरकारबाट पाउँदै आएको अनुदान कटौती भएपछि सर्लाहीसहित तराई मधेसका किसान आन्दोलनमा उत्रेका छन् । किसानहरुले अनुदानको माग गर्दै मंगलबार सर्लाहीस्थित तीनवटा चिनी उद्योग अगाडि टायर बालेर प्रदर्शनमा उत्रेका हुन् ।
किसानहरुले सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग, बगदहस्थित महालक्ष्मी चिनी उद्योग र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारविरुद्घ चर्का नाराबाजीसमेत गरेका छन् ।
सरकारबाट उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानबापत पाउँदै आएको रकम कटौती भएपछि किसानहरु आन्दोलनमा उत्रिनुपरेको उखु उत्पादक किसान संगठनहरुले जनाएका छन् । उनीहरुले गतवर्षको अनुदा बापत १ करोड ६० लाखमध्ये आधा मात्र पाएको गुनासो गरे । एकातिर उखु उत्पादनमा लागत बढी हुने, अर्कोर्तिर पाउँदै आएको अनुदान कटौतीले किसानहरु मारमा परेको उनीहरुको गुनासो छ ।
उखु किसानसमेत रहेका गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले अनुदान कटौतीको विरुद्घमा किसानहरु आन्दोलनमा उत्रेको बताए । उनले उखु किसानको जायज माग सम्बोधन गर्न सरकार आनाकानी गरिरहेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको दुःखेसो पोखे । उनका अनुसार खेतमा मिहिनेत गर्ने किसान टायर बाल्नुपर्ने स्थितिमा सरकारले पुर्याइदिएको छ । ‘उखुमा एकातिर लागत बढी अर्कोतिर अनुदान कटौतीले किसानहरु मारमा परेका छन्, तर किसानको यो समस्या सरकारले बुझिरहेको छैन,’ उनले भने, ‘बाध्य भएर हामी किसानहरु आन्दोलनमा उत्रिनु परेको छ ।’ मेयर यादवले महालक्ष्मी चिनी उद्योगले गतवर्षको ४ करोड भुक्तानी किसानलाई नदिएको जिकिरसमेत गरे ।
किसानहरुले यसअघि गत आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका थिए । उनीहरुले भदौ ८ गते काठमाडौंमा विशाल प्रदर्शनसमेत गर्ने जनाएका छन् ।
नेपाल उखु उत्पादक महासंघले गत साउन १२ गते हरिवनमा बैठक बसेर सरकारसँग उखु खेती प्रोत्साहन गर्न मागसमेत गरेका थिए । उखु उत्पादनमा सर्लाही मुलुकमै अग्रणी स्थानमा छ ।
