सेवाग्राहीको अत्यधिक चाप र बेलाबेला सिस्टममा समेत समस्या देखिएपछि आलोपालो सेवा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज — जिल्ला प्रशासन कार्यालय सप्तरीले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि बुधबारदेखि आलोपालो सेवा सञ्चालन गर्ने भएको छ ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै सेवाग्राहीको अत्यधिक चाप र बेलाबेला सिस्टममा समेत समस्या देखिएपछि आलोपालो सेवा सञ्चालन गर्न लागिएको जनाएको छ ।
‘बैंक तथा वित्तीय संस्था, सामाजिक सुरक्षा भत्तालगायत सरकारी कामकाजका लागि परिचयपत्र अनिवार्य गरेकोले सेवा लिन आउने सेवाग्राहीको अत्यधिक भिडभाड बढेको र सिस्टममा समेत समय–समयमा समस्या देखिएको,’ सूचना उल्लेख गरिएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि आलोपालो सेवा सुरु गर्न लागेको हो । सूचनाअनुसार साताको पहिलो तीन दिन शम्भुनाथ, सुरुंगा, खडक, हनुमाननगर कंकालिनी नगरपालिका तथा रुपनी, तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइनेछ भने बुधबार, बिहीबार र शुक्रबार डाक्नेश्वरी र राजविराज नगरपालिका तथा महादेवा, अग्नीसाइर कृष्णसवरण, विष्णुपुर, राजगढ र छिन्नमस्ता गाउँपालिकाकाका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ ।
इलाका प्रशासन कार्यालय बोदे बरसाइन र कञ्चनपुरबाट त्यस इलाका क्षेत्रभित्र पर्ने सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रसँगसम्बन्धी सेवा लिनसक्ने सूचनामा उल्लेख गरिएको छ ।
